जनकपुर, भाद्र २२

नेकपा क्रान्तिकारी माओवादीका मधेश प्रदेश ईन्चार्ज कृष्णदेव सिंह दनुवारले संसदीय दलहरुले नागरिकताको नाममा भोटबैंक बनाउनका लागि राजनीति गरिरहेको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित संयूक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका मधेश प्रदेश ईन्चार्ज दनुवारले आमजनताको भावनासँग खेलवाड गर्दै सस्तो लोकप्रियता कमाउनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले आफ्नो सत्ता स्वार्थ पूरा गर्नमा तल्लिन रहेको आरोप समेत लगाए ।

उनले मधेशमा रहेर गैर नेपालीलाई नागरिकता दिन्छ जस्ता भ्रम छरेर वास्तविक नेपाली नागरिकलाई फेरी पनि नागरिकताबाट वञ्चित गर्नका लागि भ्रमको राजनीतिक खेल नागरिकताको नाममा भईरहेको बताए । उनले आमजनताका वास्तविक समस्या समाधानका लागि जनजिविका देखि जनताका आधारभुत आवश्यकता र मजदुर किसानको वास्तविक सरकारका लागि संघीय जनगणतन्त्रात्मक व्यवस्था नै आवश्यक रहेको बताए । अहिलेको सरकार साम्राज्यवादी दलालबाट संचालित रहेकाले मुलुक संकटमा पार्दै लगेको आरोप लगाए ।

उनले अहिले मुलुकमा चुनावी नौटंकी गरेर देशलाई दलालहरुको अड्डा बनाउन चाहेको भन्दै सरकारको कडा आलोचना गरे ।

त्यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमतका मधेश प्रदेश ईन्चार्ज नयनले पाँच दलीय गठबन्धन सरकार जनताको हितका लागि नरहेको आरोप लगाए ।

उनले एमसिसी परियोजना र पिसिसीलगायत परियोजना पारित गर्नका लागि पाँच दलीय गठबन्धन कठपुतली सरकारको रहेको आरोप समेत लगाए । उनले नागरिकताका नाममा गैर नेपाली भित्र्याउन लागेको र मुलुकलाई सिक्किमिकरण र फिजीकरण सरकारले गर्न खोजेको आरोप लगाए ।

उनले एमसिसी पास गरेर अमेरिकी सेनाको गतिविधी गर्न बाटो खोलिदिएको बताउँदै उनले अमेरिकीको मुठीमा बस्न नचाहने मुलुकमा अस्तव्यस्त पार्दै आतंकवादी मुलुक घोषणा गरेर बितण्डा मच्चाउने कार्यमा उद्धत रहेकाले जनतालाई सचेत रहन आग्रह समेत गरे ।
उनले अमेरिकी, भारत र चीनले गर्दा नेपाललाई संकटमा पारेको आरोप लगाए ।

उनले नेपाल सधैँ स्वाधिन मुलुक रहेकाले नेपाल कहिल्यै कसैको गुलाम नबनेको ईतिहास रहेपनि अहिले मुलुकलाई दलालीकरण गरेको भन्दै पाँच दलीय गठबन्धनको सरकारको कडा आलोचना गरे ।

त्यस्तै लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सचिव रामदुलार महतोले पाँच दलीय गबठन्धनको सरकारले जनताको हित भन्दा आफ्नो स्वार्थहरु पूरा गरिरहेको बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायत चार दलीय गठबन्धनको संयूक्त आयोजनाम भएको अन्तरक्रिया कार्यक्रमको उद्घोषण क्रान्तिकारी माओवादी धनुषाका जिल्ला सचिव नन्दकुमार झाले गरेका थिए ।