जनकपुर, भाद्र २२
विश्वभरी जलवायु परिवर्तनका कारण मानवीय जीवन कष्टपूर्ण बनिरहेको समयमा वातावरणिय संरक्षणका लागि सम्बन्धित निकाय गम्भिर नरहेको वक्ताहरुको भनाई रहेको छ ।
बुधबार जनकपुरधाममा अन्नपूर्ण मिडिया ग्रुपले आयोजना गरेको जलवायु अनुकुलन नेपाल निर्माणका लागि प्रदेशस्तरीय जलवायु सम्मेलनमा वक्ताहरुले देशमा संघियता आएपनि कुनै पनि तहको सरकार वातावरण मैत्री हुन नसकेको आरोप लगाएका थिए । सम्मेलनको प्रमुख अतिथिको आसनबाट बोल्दै मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोले जलवायु तथा वातावरण संरक्षणकालागि प्रदेश सरकारले जति गर्नुपर्ने हो त्यती गर्न नसकेको स्वीकार गरे । यद्यपि आफूहरु अब विकास निर्माणका लागि कार्यान्वयनमा आउने हरेका योजनाका लागि आइईई प्रमाणपत्र देखेर मात्रै स्वीकृत गर्ने गरेको जानकारी दिए ।
मन्त्री महतोले जलवायुमा परिरहेको प्रतिकुल असरका लागि सरकारी निकाय मात्रै नभई नागरिक पनि जिम्मेवार रहेको बताए । मन्त्री महतोले जलवायु अनुकुल वातावरण निर्माणका लागि हरेक घरबाट पहल हुनुपर्ने आवश्यक रहेको बताए । उनले भने ‘वनजंगल फडानी दिन दिनै अवैध रुपमा फडानी भईरहेको छ, यसलाई रोक्नु पर्छ, यसका साथ साथै हरेक शुभकार्यमा कम्तीमा वृक्षारोपण गर्नका लागि आग्रह गर्छु ।’
सम्मेलनमा प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रामअशिष यादव, विभिन्न् राजनीतिक दलका नेताहरु, संस्कृतिविद एवं बरिष्ठ साहित्यकार रामभरोष कापडि़ लगायतका व्यक्तित्वहरुले मन्तव्य राखेका थिए ।
