मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान आरोपको घेरामा

जनकपुर, भाद्र २६

मधेस प्रदेश सरकारले आफ्नो अति नै महत्वकांक्षा योजना कार्यान्वयन गर्नका लागि प्रादेशिक अस्पताल जनकपुरको नाम परिवर्तन गर्दै स्थापना गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अनियमितता गर्नकै लागि स्थापना गरिएको आरोप मधेश प्रदेश सरकारमाथि लाग्न थालेको छ ।

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले २०७७ फागुन ६ गते प्रादेशिक अस्पताल जनकपुरको नाम बदलिएर स्थापना गरिएपनि काम भने अनियमितताकै भईरहेको पाइएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरुले प्रशासनिक कामहरुमा व्यापक अनियमितता गरिरहेको आरोप छ ।
प्रतिष्ठानले पटक पटक प्रकाशित गरेको विज्ञापन स्थगित गर्दै नियमित विपरित अयोग्य अयोग्य व्यतिmलाई भर्ना गर्न चाहिरहेको आरोप लगाइएको छ ।

मुटुरोग विशेषज्ञ डा. अजय मिश्राले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञापनको अवस्था देख्दा सो ठाउँ अनियमितताले भरिएको स्पष्ट भएको दावी नै गरेका छन् ।

डा.मिश्राले भने, ‘पछिल्लो पटक प्रतिष्ठानले विभिन्न पदका लागि विज्ञापन आह्वान गर्दा कति सिटमा कति जनाको माग थियो त्यो पनि खुलाइएन । प्रशासनिक गल्तीहरु व्यापक देखिएको छ ।’

उनले प्रतिष्ठानका प्रशासनिक कर्मचारीले फारम बुझ्ने बेलामा पनि न्यूनतम प्रक्रिया पूरा नगरि कानून विपरित जथाभावीलाई भर्ना गरेको आरोप लगाए ।

प्रतिष्ठानले पछिल्लो पटक जेनरल सर्जरी विभागमा विज्ञापन नम्बर–३८÷०७९÷८० मा ३ वटा सिटका लागि विज्ञापन आह्वान गरेपनि भदौ २० गते नतिजा प्रकाशन गर्दा ४ जनालाई उतिर्ण गरेको थियो ।

पहिलोपटक भदौ २० गते नतिजा प्रकाशन गर्दा प्रोफेसर डा.सुधिर कुमार सिंह र डा. राकेश कुमार पण्डित तथा असिस्टेन्ट प्रोफेसर डा. विनय कुमार साह र डा. ध्रुव नारायण साहको नाम निकालिएको थियो । जबकी साउन १ गते प्रकाशित सूचना अनुसार सो पदमा माग
संख्या ३ जना मात्रै थियो । त्यसपछि डा. मिश्राले विरोध गर्दा ५ दिनपश्चात भदौ २० गते डा. ध्रुव नारायण साहको नाम वैकल्पिकमा राखिएको थियो ।

डा. मिश्राले प्रोफेसर इन मेडिसिनमा आफूले फारम भरेपनि आफ्नो ठाउँमा एमडी एमएस नगरेको र काउन्सिलमा पनि एमडी एमएस दर्ता नभएको डा. आरपी दासलाई छनोट गरिएको बताए ।

विज्ञापन एउटा पदमा आह्वान हुँदा नाम अर्कैमा सिफारिस भएकोप्रति मेडिसिन विभागका डा. रवि रञ्जन प्रधानले पनि आपत्ति जनाएका छन् । प्रोेफेसर बन्न एमडी अनिवार्य रहेको बताउँदै मेडिसिन विभागमा एसोसिएट प्रोफेसरमा फारम भरेका डा.कृष्ण कुमार साहको नाम एसिस्टेन्ट प्रोफेसरमा निस्केको गुनासोसमेत सुनाए ।

उनले आफूले सबै प्रक्रिया पुर्याएपनि आफ्नो नाम वैकल्पिकमा राखिएको बताए । डा. प्रधानले सरकारी संस्था नियमानुसार चल्नुपर्ने बताए ।

यता प्रतिष्ठानका प्रवक्ता डा. रामनरेश पण्डितले प्रतिष्ठानमा सामान्य प्रशासनिक त्रुटि भएको हुनसक्ने स्वीकारे । उनले प्रशासनिक काममा त्रुटि भएपनि आफूहरुले विधि, नियम र प्रक्रिया नमिचेको दावी गरे ।