जनकपुर, भाद्र २६
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको आन्तरिक तयारीमा जुटेका नेताहरु अहिलेदेखि नै आफ्नो आन्तरिक तयारीमा जुटेका छन् ।
लामो समयदेखि कार्यरत्त रहेका राजनीतिक दलबाट अवसर नपाउदाँ अवसरकै लागि भएपनि राजनीतिक दल परिवर्तन अभियान पनि त्यतिकै मौलाएका छन् ।
सोहीक्रममा नेपाली काँग्रेस धनुषाका प्रभावशाली नेताहरुले आफ्नो नेतादेखि दल नै त्याग गरि अन्य दलमा प्रवेशमा तयारीमा छन् ।
सभापति शेरबहादुर देउवाका खास पात्रका रुपमा रहको काँग्रेस धनुषाका सभापति प्रत्याशी उम्मेदवार सन्तोष यादवले भने नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
उनको प्रवेशले उनका नेता समेत रहेका काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई ठुलै झड्का लागेको बताइएको छ । नेता महेन्द्र यादवका खास व्यक्ति समेत रहेका काँग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादवले पार्टी छाडेपछि उनलाई निकै ठुलो क्षती भएको छ ।
धनुषा क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरिरहेका सह महामन्त्री महेन्द्र यादवलाई आफ्नै ‘विश्वासपात्र’ जिल्लाका पूर्वउपसभापति सन्तोष यादव एमाले प्रवेश गर्न लागेपछि झड्का लागेको हो ।
सोमबार जनकपुरमा आयोजना हुने एक कार्यक्रमकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने तयारी रहेको जनाइएको छ ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनको नाम उम्मेदवारको रुपमा प्रदेशसभाको प्रत्यक्ष तर्फमा सिफारिस नगरिएकाले सो पदका लागि एमाले प्रवेश गर्ने भएका छन् ।
धनुषा कांग्रेस र खासगरी क्षेत्र नम्बर ४ मा राम्रो पकड भएका सन्तोष एमाले प्रवेश गर्ने भएपछि प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारी गरिरहेका सहमहामन्त्री महेन्द्र यादव रनभुल्लमा परेका छन् । जिल्लाका पूर्वउपसभापतिसमेत रहेका सन्तोष सुरूमा कांग्रेसभित्र कोइराला पक्षधर थिए ।
पहिलो जनआन्दोलनको सफलतापछि २०४८ सालमा भएको पहिलो निर्वाचनदेखि २०७० को संविधानसभा निर्वाचनसम्म उनी कोइराला समूहमा आवद्ध भएर राजनीतिक गतिविधि अगाडि बढाइरहेका थिए।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४(तत्कालीन ५) बाट पूर्वराष्ट्रपति रामवरण यादव पनि पटक–पटक निर्वाचित भएका छन्। ती सबै निर्वाचनमा सन्तोष पूर्वराष्ट्रपति यादवसँग निकट भएर काम गरेका थिए।
राष्ट्रपतिमा निर्वाचित भइसकेपछि त्यस क्षेत्रबाट चुनाव लडेका डा.यादवका छोरा डा.चन्द्रमोहन यादवलाई सघाए।
२०७४ को निर्वाचनमा प्रदेससभातर्फ टिकट पाउने अपेक्षा गरे पनि पार्टीले चन्द्रमोहनलाई अघि सारेपछि टिम परिवर्तन गरेर उनी देउवा समूहमा आवद्ध भए।
यसपटक प्रतिनिधिसभा र प्रदेससभामध्ये कुनै तर्फ सिफारिसमा नपरेपछि सन्तोष पार्टी नै छाड्ने निष्कर्षमा पुगेका हुन्।
‘पार्टीभित्र गरेको योगदानको मूल्याङ्गन नै भएन, वर्षौंदेखिको लगानी छ। दुखद निर्णय लिन बाध्य भएको छु,’ सन्तोषले आयोमेलसँग भने।
आगामी निर्वाचनमा प्रदेससभामा प्रत्यक्षतर्फ नभए कम्तिमा समानुपातिकतर्फ सिफारिस हुनेमा आशावादी दिए, उनी।
सहमहामन्त्री महेन्द्रदेखि अरू नेताहरूबाट आश्वासन पनि उनले पाएका थिए।
प्रतिनिधिसभा र प्रदेससभामध्ये कुनैतर्फ उनको नाम सिफारिसमा परेन। अन्ततः टिकट पाउने शर्तमा सन्तोष एमाले प्रवेश गर्ने अन्तिम तयारीमा छन्।
सहमहामन्त्री यादवकै ‘इशारा’ मा उनको नाम सिफारिस नभएको उनीनिकटहरू बताउँछन्। सुरूदेखि कोइराला समूहमा लागेको ‘बदला’ नाम सिफारिस नगरेर सन्तोषसँग लिइएको उनी निकटहरूको भनाइ छ।
एमाले प्रवेश गर्न लागेका सन्तोष तिनै हुन् जसलाई कांग्रेसको १४ औं अधिवेशनका बेला सहमहामन्त्री महेन्द्रले देउवा समूहबाट जिल्ला सभापतिका उम्मेदवार बनाएका थिए।
पूर्वउपसभापति विमलेन्द्र निधि समूहबाट जिल्ला सभापतिका उम्मेदवार बनेका योगेन्द्र पजियारविरूद्ध सहमहामन्त्री महेन्द्रले सन्तोषलाई अगाडि सारेका थिए। दोस्रो चरणको निर्वाचनमा निधि समूहका पजियारबाट सन्तोष पराजित भए।
निधि समूहको तर्फबाट जिल्ला सभापतिमा निर्वाचित भएका पजियार पनि सहमहामन्त्री महेन्द्रकै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् ।
जिल्ला अधिवेशनका क्रममा पजियारसँग बढेको दूरीको नतिजा स्थानीय तह निर्वाचनमासमेत देखियो ।
क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका पजियार पुनः दोहोरिन चाहन्थे। सहमहामन्त्री महेन्द्र भने उनलाई टिकट अड्को थापे । पजियरालाई मेयरको चुनाव लड्नबाट रोक्न सक्दो प्रयास उनले गरेका थिए। तर, सफल भएनन् ।
क्षिरेश्वरनाथ नगरपालिकाका मेयरका लागि दोस्रोपटक पनि पजियारले नै टिकट पाए। यद्यपि उनले चुनाव जितेनन्। पजियार चुनाव हार्नुमा सहमहामन्त्री महेन्द्रकै असहयोग रहेको बताइन्छ ।
आफू पनि त्यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका सहमहामन्त्री महेन्द्रले मतदातामाझ पकड भएका सन्तोषको साथ नपाउने लगभग निश्चित भइसकेको छ ।
अर्कोतर्फ जिल्ला अधिवेशन र स्थानीय तह निर्वाचनमा असहयोग गरेकोले जिल्ला सभापति पजियारको सहयोग नपाउने प्रायः निश्चित नै छ ।
निधि समूहबाट चुनाव लडेर जिल्ला सभापतिमा निर्वाचित भएका पजियार भने प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट सिफारिस भएका छन् ।
आगामी निर्वाचनमा आफूलाई सहयोग गर्ने ‘शर्त’ मा सहमहामन्त्री महेन्द्रले जिल्ला सभापति पजियारलाई समानुपातिकतर्फ सिफारिस गर्न लगाएको स्रोतले बतायो ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य चुनिएका महेन्द्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका रघुवीर महासेठबाट पराजित भएका थिए ।
महासेठले २२ हजार ५३२ मत पाउँदा महेन्द्रले १९ हजार ९९१ मत ल्याएका थिए ।
त्यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट चुनाव लडेका पूर्वराष्ट्रपति यादवका पुत्र चन्द्रमोहनले एमाले उम्मेदवार महासेठलाई पराजित गरेका थिए ।
पहिलो संविधानसभाको निर्वाचनपछि यादव राष्ट्रपतिमा निर्वाचित भइसकेपछि भएको उपनिर्वाचनमा महासेठले चन्द्रमोहनलाई पराजित गरेका थिए ।
एमाले सचिवसमेत रहेका महासेठ यसपटक पनि त्यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। त्यस क्षेत्रबाट उनको एकल नाम सिफारिस भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ कांग्रेसको तर्फबाट सहमहामन्त्री महेन्द्र र चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ ।
सन्तोष यादवसंगै उपसभापति सुरेन्द्र चौधरी मुना, स-सचिव महेश बस्नेतलगायत धनुषा क्षेत्र नम्बर ४ का करिब चार हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु काँग्रेस पार्टी परित्याग गर्ने भएका छन् ।
