काठमाण्डौ, असोज ११

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमा तोक्न मंगलबार दलहरूसँग छलफल गर्ने जनाएको छ ।

यसका लागि आयोगले १२ दलका प्रतिनिधिलाई आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि आमन्त्रित गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनले सो बैठक ११ बजे दलहरूसँग छलफल गरिने बताए ।

०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रति उमेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले यस पटक हेरफेर गर्न लागेको हो । त्यसका लागि आयोगले दलहरूलाई खर्च सीमाको प्रस्ताव अध्ययनका लागि पठाइसकेको छ । भने जिल्ला पिच्छे खर्चको समय सिमा फरकफरक छ ।

उनले खर्च सीमाबारे विभिन्न प्रस्तावमा छलफल भएको र तिनै प्रस्तावहरूमाथि सुझाव लिएर निर्णय लिने बताए ।

आयोगले तयार पारेको प्रस्तावमा १६५ निर्वाचन क्षेत्रलाई ५ वटा क्याटागोरीमा विभाजन गरेको जनाएको छ । जसमध्ये २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म एक उम्मेदवारले खर्च गर्न पाउने प्रस्ताव गरिएको छ ।

आयोगले गरेको प्रस्तावमा ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख, २३ वटाले २७ लाख, ६६ वटाले २९ लाख, ४४ वटाले ३१ र २७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउनेगरी प्रस्ताव गरेको छ ।

त्यस्तै निर्वाचन आयोगले आजैबाट निर्वाचन आचारसंहिता पुर्ण कार्यान्वयनमा ल्याउदैँछ ।