जनकपुर, असोज ११
सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बिच चुनावी गठबन्धनबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि सहभागी हुने भएको छ ।
स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार उठाएर चुनाव लड्दैछन् ।
स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन निर्वाचनमा सहभागी भएका थिए ।
प्रमुख प्रतिपक्ष नेकपा एमाले एक्लैले स्थानीय तहको निर्वाचन लडेका थिए ।
तर यसपटक भने एमालेले पनि गठबन्धनका लागि सहयात्री खोजी गरिसकेपनि केही सहयात्रीलाई सिट बाँडफाँडमा सकससँगै टुंगोमा पुग्न सकेको छैन ।
सत्तारूढ गठबन्धनमा पनि तत्कालको मुद्दा एउटै भएकाले कार्यनीतिक सहकार्यमा छन् । विगतमा विभिन्न धारमा रहेर राजनीति गरेका शक्तिहरू २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संयुक्त रूपमा सडकमा थिए । संविधानको रक्षा, गणतन्त्रको रक्षा र लोकतान्त्रिक प्रणालीको मुद्दामा एक ठाउँमा उभिएका ती दलहरूको कार्यनीति मोर्चा बन्यो, जुन मोर्चा स्थानीय निर्वाचनदेखि अहिलेसम्म सहकार्यका लागि गठबन्धनलाई नै निरन्तरता दिएका छन् ।
त्यस्तै एमालेले पनि मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्यको प्रयत्न जारी नै राखेका छन् । एमाले अध्यक्ष ओलीले राजावादी शक्तिदेखि मधेशकेन्द्रितलाई अलग राज्य बनाउनुपर्ने माग राख्ने र संघीयताको खारेजी हुनुपर्ने मान्यता राख्ने शक्तिसँग समेत तालमेल गर्ने भएका छन् ।
एमालेले अहिले संघीयता विरोधी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलसँग चुनावी मोर्चामा सहकार्य गर्दैछन् । चुनावी सहकार्यका लागि एमालेले संवैधानिक राजतन्त्र, हिन्दू राज्य र एकात्मक राजनीतिक प्रणाली मुद्दा बोकेका राप्रपालाई प्राथमिकता समेत राखेका छन् ।
महाधिवेशनमा पराजितपछि राप्रपाबाट अलग भएर राप्रपा नेपाल गठन गरेका कमल थापा पनि एमाले नेतृत्वको गठबन्धनको छातामुनि छन् । महाधिवेशन अघिसम्म गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको चर्को विरोध गर्दै आएका थापा पार्टीबाट अलग भएपछि राजसंस्था त्यागेको बताउँदै आएका छन् । तर, उनको दृष्टिकोणमा कुनै बदलाव भने आएको छैन ।
त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि सहकार्य गर्ने नीति एमालेले अख्तियार गरेको छ ।
त्यस्तै एमालेसँग गठबन्धन गर्ने शक्तिमा हृदयेश त्रिपाठी नेतृत्वको समूह पनि पर्छ । एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवार पाएका त्रिपाठी २०७४ को निर्वाचनमा समेत सूर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए । तुलनात्मक रूपमा अरूभन्दा कम आलोचित त्रिपाठी समूहको मुद्दा भने एमालेसँग मिल्दैन । तथापि त्रिपाठी समूह पहिचान र सामाजिक न्यायको मुद्दाको पक्षमा छन्, तर एमालेले भने कहिल्यै पनि सो मुद्दालाई अंगिकार गरेको छैन ।
त्यस्तै पूर्वमन्त्री एकनाथ ढकालको परिवार दल गत स्थानीय निर्वाचनमा घोषित रूपमै सूर्य चिन्हबाट चुनाव लडेको थियो । होलिवाइन प्रकरणले विवादमा आएका ढकाल पश्चिमा शक्तिहरूबाट परिचालित भएको आरोप लाग्दै आएको छ । भने एमालेले यस दललाई आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने गरी सहकार्यमा राखेका छन् ।
त्यस्तै एमालेले सिपी मैनाली नेतृत्वको नेकपा मालेदेखि विप्लव नेतृत्वको नेकपा र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग समेत अघोषित सहकार्यमा छन् ।
एमालेले निर्वाचनमा जति शक्तिसँग सहकार्य गरिरहेका छन् । उनीहरुसँग विचार र मुद्दा भने विल्कुलै फरक छन् ।
कमल थापा र राजेन्द्र लिङ्देल संविधानका अधिकांश प्रावधान र यसको मूल चरित्रसँगै असहमति राख्दै आएका छन् । राउत, त्रिपाठी र ठाकुर आत्मनिर्णयको अधिकार खोजिरहेका छन् ।
निर्वाचनमा मतका लागि जस्तोसुकै शक्तिसँग सहकार्य र गठबन्धन गर्नसक्ने एमाले स्वतन्त्र जनप्रतिनिधिसँग भने अनुदार देखिएका छन् ।
