जनकपुर, असोज १३

आउने मंसिर ४गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । दलहरु आगामी निर्वाचनका लागि तीव्र गतिमा तयारी गरिरहेका छन् । दलहरुका लागि अहिले उम्मेदवार छनौटको विषय टाउको दुखाईको विषय बनेको छ । र अहिले उम्मेदवार छनौटमै व्यस्त देखिएका छन् । पछिल्लो निर्वाचनभन्दा आउने निर्वाचनको समिकरण फरक देखिएकाले कुनै दलहरुलाई तयारी पनि पछिल्लो पटकको तयारीभन्दा पृथक किसिमले गर्नु परिरहेको छ ।

२०७४ को संघीय निर्वाचनमा मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांश निर्वाचन क्षेत्रमा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले जित निकालेका थिए । यी दुई दलले ३२ मध्ये १९ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको सदस्य निर्वाचित गराउन सफल भएको थियो ।

संघिय समाजवादी पार्टी र राजपाको गठबन्धनले मधेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई कमजोर तुल्याएको थियो । नेपाली कांग्रेस ६ स्थानमा खुम्चिएको थियो भने एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दा समेत एमालेले २ र माओवादी केन्द्रले ५ स्थानमा मात्रै जित निकाल्न सकेको थियो ।

तर अब समिकरण फेरिएको छ । पछिल्लो स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेस मजबुत भएर आएको छ भने, मधेशवादी दलहरु जसपा र लोसपा तथा माओवादी केन्द्रको शक्ति क्षिण भएको देखिन्छ । एमालेबाट अलग्गिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टी समेत यस पटकको निर्वाचनमा सहभागी हुनुले हरेक दललाई केही प्रभाव पार्ने निश्चित देखिन्छ ।
२०७४ मा लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । उनको क्षेत्रमा अहिले जनता समाजवादी पार्टी(जसपा)बलियो देखिएको छ । उक्त क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूमा जसपाले १४ हजार ३ सय ५७ मत ल्याएको छ । लोसपाले १२ हजार ७ सय ३५ मत ल्याएको छ । ५ दलीय सत्ता गठबन्धनमा जसपा रहेकाले लोसपा यो क्षेत्रमा अझै कमजोर बन्न सक्छ । नेपाली कांग्रेसले ९ हजार ४३ मत ल्याएको छ । एमालेको १० हजार ८ सय २० मत छ । नेकपा (माओवादी केन्द्र)ले ५ हजार १ सय ९५ मत छ ।
यो क्षेत्रमा ठाकुरले निर्वाचन जित्नका लागि सत्ता गठबन्धनकै सहारा लिनुपर्छ । सत्ता गठबन्धनमा आउन लोसपाले प्रयास गरे पनि जसपा अध्यक्ष उपेन्द्र यादव सहमत नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय लिन सकेका छैनन् । स्रोतका अनुसार यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि साथ दिएका छन् । लोसपाले एमाले, जनमत पार्टी र राप्रपासँग तालमेल ग¥यो भनेपनि ठाकुरका लागि जित निकाल्न कठिन छ ।

यता लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो चुनावका लागि झन् धेरै जोखिममा छन् । २०७४ को निर्वाचनमा महतोले धनुषा ३ बाट ३० हजार ७ सय ५० मत ल्याएका थिए । उनले कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई हराएका थिए । निधिले २७ हजार ८ सय ४८ मत ल्याएका थिए । स्थानीय तहको निर्वाचनमा लोसपाले यो क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूबाट ८ हजार ७ सय ६३ मत मात्रै पाएको छ । जबकी नेपाली कांग्रेसले २२ हजार ४ सय २८ मत पाएको छ । एमालेले १७ हजार ९६, जसपाले ८ हजार २ सय ३८, एकीकृत समाजवादीले ३ हजार ७ सय २५ मत ल्याएको छ । यस हिसाबले महतो पनि जोखिममै देखिन्छन् ।

लोसपाका अर्का नेता अनिल झालाई पनि रौतहट क्षेत्र नं १ मा जित्न निकै कठिन हुने देखिएको छ । यो क्षेत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव उठ्ने तयारी गरेका छन् । स्थानीय चुनावको मतअनुसार यो क्षेत्रमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको छ । वडा तहमा उसले १९ हजार ६ सय ९८ मत ल्याएको छ । नेपाली कांग्रेसले १६ हजार ९ सय २८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २ सय ४१, माओवादी केन्द्रले ८ हजार १ सय १९, एमालेले ७ हजार ३ सय ८५ मत ल्याएका छन् । सत्ता गठबन्धनले यो क्षेत्रमा माधव नेपाललाई उम्मेदवार बनाउने निश्चित जस्तै छ । स्थानीय चुनावको मतलाई आधार मान्ने हो भने पनि माधव नेपालका लागि यो क्षेत्रमा सुरक्षित छ ।