जनकपुर, असोज १३
नेकपा एमालेसँग तालमेल गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा गठन गरिएको वार्ता टोलीले संवाद अघि बढाएका छन् ।
वार्ताका क्रममा लोसपा नेपालका नेता महतोले यसपटक धनुषाको क्षेत्र नम्बर ३ छाडेर सर्लाहीको क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने छन् । २०७४ को चुनावमा धनुषा–३ बाट चुनाव जितेका महतो आगामी चुनावमा भने सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुने निश्चित भएको छ ।
धनुषाको क्षेत्र नम्बर ३ बाट एमालेकी जुली महतोले चुनाव लड्ने भएपछि महतो सर्लाहीबाट चुनाव लड्न लागेका हुन् ।
२०७४ को चुनावमा निर्वाचित भएका राजेन्द्र महतोलाई त्यतिबेला नेतृ जुली महतो र रघुवीर महासेठले आन्तरिकरुपमा सघाएकै कारण जितेका थिए । तर यसपटक जुली महतो आफै आउने भएपछि राजेन्द्र महतोलाई पछि हट्नु परेको एमालेका एक नेताले ठोकुवा गरे ।
त्यसबेला महतो राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट उम्मेदवार थिए भने निकटतम प्रतिद्वन्द्वी नेता विमलेन्द्र निधिलाई २ हजार ९१४ मतले महतोले जितेका थिए । महतोले ३० हजार ७४२ मत ल्याएका थिए ।
अर्कोतर्फ, एमालेबाट उम्मेदवारी दाबी गरेकी जुली महतोलाई सघाउने सहमती पनि भएका नेता राजेन्द्र महतोले स्वीकारे ।
जुली महतोले पहिल्यैदेखि चुनाव लड्नको लागि राजनीतिक तयारी गरिरहेको र अहिले उनीसँग आफूले प्रतिस्पर्धा गर्ने सोच नरहेको राजेन्द्र महतोले बताए ।
नेतृ जुली महतो एमाले नेता रघुविर महासेठको श्रीमती हुन । उनले धनुषा–३ बाट उम्मेदवार बन्ने तयारी गरेको भए पनि एमालेले भने अहिलेसम्म उम्मेदवार तय भएको छैन । उनी गैरआवासीय नेपाली एवं व्यवसायी उपेन्द्र महतोको बहिनी पनि हुन् ।
