जनकपुर, असोज १४
प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारी गरिरहेका गंगाराम यादव नेकपा एमाले परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
उनलाई पार्टी प्रवेश गराउन अध्यक्ष उपेन्द्र यादव आफैं धनुषा पुगेका थिए । गंगारामलाई पार्टी प्रवेश गराउन धनुषाको पूर्वी भेग शहिदनगर नगरपालिकामा जसपा नेपालले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो ।
गंगारामले एमालेबाटै धनुषा क्षेत्र नम्बर २ मा चुनाव लड्न चाहेका थिए । त्यसका लागि उनले तयारीसमेत थालिसकेका थिए ।
त्यहीबीचमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका कार्यकारिणी सदस्यसमेत रहेको निवर्तमान प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया एमाले प्रवेश गरेपछि उनको सपनामाथि तुषारापात भयो ।
अघिल्लोपटक संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका अरगरिया टिकट पक्का गरेर एमाले प्रवेश गरेको थाहा पाएपछि अत्तालिएका गंगारामको पार्टी परित्याग गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा आँखाबाट आँशु नै झरेको थियो ।
लामो समयदेखि एमालेमा बसेर राजनीति गरेका गंगाराम अब त्यस क्षेत्रमा चुनाव लड्नकै लागि जसपा नेपालमा प्रवेश गरेका हुन् ।
धनुषाको क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झा र नेपाली कांग्रेसका नेता रामकृष्ण यादवको पनि क्षेत्र हो । २०७० को संविधानसभा निर्वाचनमा चुनाव जितेका रामकृष्णलाई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अरगरियाले पराजित गरेका थिए ।
आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी दुवै जना फेरि धनुषा २ बाटै चुनाव लड्ने तयारीमा छन् ।
सो क्षेत्र सत्ता गठबन्धनका घटक दल एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री रामचन्द्रले पनि त्यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।
अघिल्लो निर्वाचनमा वामगठबन्धनका तर्फबाट माओवादीबाट चुनाव लडेका उनी तेस्रो स्थानमा सीमित भएका थिए ।
धनुषा २ का लागि सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ ।
सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताहरूबीच चलिरहेको छलफलमा पनि धनुषा २ का लागि ती तीन घटक दलहरूले दाबी प्रस्तुत गरेका छन् । गठबन्धनमा भएको प्रारम्भिक सहमतिअनुसार त्यो क्षेत्र कांग्रेसले पनि दावी गर्दै आएका छन् ।
धनुषा २ का लागि घटक दलहरूको आ–आफ्नो अडान कायमै छ ।
कांग्रेस भने वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको आँकडाको आधारमा त्यो सिट आफूहरूले पाउनुपर्ने तर्क गरिरहेको छ ।
२०७४ को निर्वाचनमा आफू वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुँदा पनि तत्कालीन एमालेका नेता गंगारामले अन्तर्घात गरेको नेता रामचन्द्रको आरोप छ ।
रामचन्द्रले सिट बाँडफाँटमा धनुषा २ जसपाकै भागमा परे पनि गंगारामलाई सहयोग गर्न नसकिने प्रष्ट संकेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘२०७४ को निर्वाचनमा धनुषा २ मा एमाले र माओवादीको गठबन्धन थियो। तर, गंगाराम यादवलगायत केही व्यक्तिहरू मलाई खुला रूपमा अन्तर्घात गरेका थिए। यसपाली जसपामा प्रवेश गर्दै र गठबन्धनको समर्थन होस् भन्ने अपेक्षा गरेका छन्,’ रामचन्द्र भन्छन्,‘तपाईं आफ्नै पार्टीबाट वा गठबन्धनबाट जो सुकै उठे पनि अन्तर्घात गर्ने? अनि तपाईंलाई अरूले समर्थन गर्नुपर्ने ?’
आफूलाई अन्तर्घात गरेर चुनाव जिताउन सहयोग गरेका उम्मेवारसँग सहयोग माग्न उनले गंगारामलाई सुझाव दिएका छन् ।
उनले भने, ‘तपाईं यसपाली उमाशंकरको समर्थन माग्नुस् । र, भन्नुस् २०७४ मा आफ्नो गठबन्धनमा अन्तर्घात गरी तपाईंलाई सघाएँ। यसपाली तपाईं मेरो लागि मैदान खाली गर्नुस्। अरूसँग समर्थन माग्ने तपाईंसँग नैतिक आधार छैन् ।’
