जनकपुर, असोज १५
आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको चहलपहल बढेसँगै धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा दुई ठूला दलका पदाधिकारीबीच प्रतिस्पर्धा हुने लगभग निश्चित छ ।
नेपाली काँग्रेसका पूर्व नेता समेत रहेका पूर्व राष्ट्रपति डा.रामवरण यादवको समेत निर्वाचन क्षेत्र रहेको धनुषा– ४ बाट यसपाली नेपाली कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठ प्रतिनिधसिभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि पूर्वमन्त्री यादव र पूर्वमन्त्री महासेठले तयारी थालिसकेका छन् । दुवैले आ–आफ्नो तरिकाले घरदैलो अभियान देखि भेटघाट अभियानलाई समेत तिव्रता पारेका छन् ।
०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा धनुषा ४(तत्कालीन क्षेत्र नम्बर ५) मा कांग्रेसका तर्फबाट चुनाव जितेर डा. रामवरण यादव देशकै पहिलो राष्ट्रपति बनेका थिए ।
तत्पश्चात ६ महिनापछि भएको उपनिर्वाचनमा पूर्व राष्ट्रपतिका छोरा डा.चन्द्रमोहन यादवलाई महासेठले पराजित गरे।
०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा फेरि चन्द्रमोहन र महासेठ चुनावी प्रतिस्पर्धा भयो । सो निर्वाचनमा डा. चन्द्रमोहन यादवले पूर्वमन्त्री महासेठलाई पराजित गरे ।
त्यतिबेला कांग्रेसका सहमहामन्त्री यादव समानुपातिकबाट संविधानसभा सदस्यमा निर्वाचित भए ।
२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर ४(१) बाट डा. चन्द्रमोहन प्रदेससभा सदस्यमा चुनाव लडे भने यादव प्रतिनिधिसभातर्फ चुनाव लडेका थिए ।
कांग्रेसका सहमहामन्त्री यादव एमाले नेता महासेठसँग पराजित भएका थिए ।
एमाले नेता महासेठले २२ हजार ५३२ मत ल्याउँदा महेन्द्रले १९ हजार ९९१ मत प्राप्त गरे ।
त्यस्तै तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गरि तेस्रो भएका थिए ।
अघिल्लो चुनावको भन्दा यसपटक परिस्थिति भने बदलिएको छ । त्यतिबेला पूर्वमन्त्री महासेठ तत्कालिन नेकपाको उम्मेदवार थिए ।
अहिले अदालतको फैसलापछि नेकपा विभाजन भएको छ भने पुनः एमाले र माओवादी केन्द्र व्यूतिएको छ । त्यसमा पनि एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी पाँचदलीय गठबन्धनमा आवद्ध छ ।
एमाले नेता महासेठले त्यतिबेला पाएको मतमा माओवादी केन्द्र र एमालेका माधव नेपाल समूहको समेत ‘ ठुलो हिस्सा’ छ ।
धनुषा ४ मा एमालेबाट महासेठको नाम एकल सिफारिस भएको छ । तर, सत्ता गठबन्धनमा त्यो क्षेत्रका लागि कांग्रेस र जसपा दुवैको दाबी रहेको छ । जसपा नेपालले धनुषाको कुल ४ क्षेत्रमध्ये २, ३ र ४ का लागि दाबी गरेको छ ।
यता सत्ता गठबन्धनभित्र धनुषाको सिट बाँडफाँटमा अन्तिम टुंगो भने लागि सकेको छैन ।
