काठमाण्डौ, असोज १५

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन साहको विरुद्धमा नारावाजीसहित पुत्लादहन गरेका छन् ।

काठमाण्डौ स्थित बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका हुन् ।

उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध नाराबाजी समेत गरेका छन् । प्रदर्शनकारीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका छन् ।

स्थानीयवासीको आन्दोलनमा समर्थन गर्न काठमाण्डौ महानगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए । उनले महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका छन् ।

स्थानीयवासी प्रदर्शनकारीले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेका छन् ।