सर्लाही, असोज १५

सर्लाहीमा बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ ।

शनिवार दिउँसो नेकपा एमाले र नेकपा माओवादी केन्द्र एवं नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप हुँदा केहीजना घाइते भएका छन् ।

हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

प्रहरी प्रवक्ता यादवले केही दिन अघि नगरपालिकाले माछा बजार ठेक्का लगाउँदा कौडी उठाउने विषयलाई लिएर विवाद भएको बताए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको उनले बताए ।

उनका अनुसार सो स्थानमा अहिलेपनि प्रहरी परिचालन रहेका छन् भने अवस्था सामान्य भएको छ । घाइतेको यकित तथ्यांक अहिले नआएको प्रहरीले जनाएका छन् ।

झडपको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा समेत लिइएको प्रहरी नायव उपरीक्षक यादवले बताए ।