जनकपुर, असोज २२
सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाल बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल भित्रिएको छ । यसपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँटको समिकरण फेरिएको छ । जसपा नेपाल सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेपछि बाँडफाँटमा गठबन्धनभित्र सिट थपघट हुने भएको छ ।
सत्ता गठबन्धनबाट जसपा बाहिरिएर लोसपा भित्रिएपछि कांग्रेसले ८६, माओवादीले ४४, एकीकृत समाजवादीले १७, राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सहमति भएको थियो ।
गठबन्धनभित्र जसपालाई १६ सिट मात्र भाग परेपछि असन्तुष्ट बनेर नेकपा एमालेसँग तालमेल गरेको छ । जसपाको ठाउँमा लोसपा गठबन्धनमा जोडिँदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको केही सिट हेरफेरसँगै फेरिने छ ।
अब गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ । १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुने भएको छ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच प्रतिनिधिसभाको सिट बाँडफाँट करिब टुंगो लागिसकेको छ ।
गठबन्धनको बैठकले करिब १० घण्टा लगाएर सिट बाँडफाँट टुङ्ग्याएको थियो । शुक्रबार लोसपाका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग मात्र छलफल गरेका थिए । कांग्रेसका एक जना पदाधिकारीका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिइने भएको छ ।
सत्ता गठबन्धनभित्र लोसपालाई चुनावी तालमेलमा समेट्ने सैद्धान्तिक सहमति भएको लोसपा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।
यता लोसपाका लागि गठबन्धनमा केही निर्वाचन क्षेत्र मिलाउन सकस देखिएको छ ।
मधेश प्रदेशको रौतहट १ मा गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार हुने पहिले नै सहमति भइसकेको छ । तर ०७४ मा लोसपाका नेता अनिल झा सो क्षेत्रबाट निर्वाचित भएका थिए । गठबन्धनमा लोसपाले नेता झाका लागि रौतहट १ मागेको छ ।
त्यस्तै एकीकृत समाजवादीले पाउने निश्चित भएको बारा ४ र धनुषा ३ लगायतका क्षेत्रमा पनि लोसपाले दावी गरको छ । ०७४ मा बारा ४ मा लोसपाका राम एकवाल मिया र धनुषा ३ मा राजेन्द्र महतो निर्वाचित भएका थिए । उक्त क्षेत्र आफूले पाउने पर्ने लोसपाको प्रस्ताव रहेको छ ।
त्यस्तै बारा ४ मा एकीकृत समाजवादीले नेता किसान श्रेष्ठ र धनुषा ३ मा रामचन्द्र झालाई गठबन्धनबाट उम्मेदवार बनाउने तयारी गरिसकेको छ । केही क्षेत्रमा भने कांग्रेसका लागि पनि लोसपाका नेताको व्यवस्थापन समस्या देखिएको छ ।
त्यस्तै पर्सा ४, महोत्तरी २ लगायतमा लोसपा र कांग्रेसको दाबी रहेको छ । ०७४ मा पर्सा ४ बाट लोसपाका लक्ष्मणलाल कर्ण विजयी भएका थिए भने महोत्तरी २ मा शरदसिंह भण्डारी निर्वाचित भएका थिए ।
पर्सा ४ र महोत्तरी २ लोसपालाई छाड्दा नेता रमेश रिजाल र नेतृ किरण यादवको व्यवस्थापन कांग्रेसका लागि चुनौती पूर्ण रहेको काँग्रेसका नेताहरुको भनाई छ ।
