जनकपुर, असोज २३
नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले जनता समाजवादी पार्टी नेपाल भ्रष्टाचारी पार्टी रहेको आरोप लगाएका छन् ।
आइतबार रौतहट–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका पूर्वमन्त्री साहले यस्तो आरोप लगाएका हुन् ।
पार्टीबाट टिकट पाए पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका साहले जसपासँग तालमेल गर्ने पार्टीको निर्णयप्रति आफ्नो असहमति रहेको उनले बताए ।
जसपासँगको एमालेले गरेको गठबन्धन देशका लागि घातक रहेको उनको भनाई छ । पूर्वमन्त्री साहले जसपाको राजनीतिभित्र साम्प्रदायिकता रहेको बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो स्वार्थका लागि जस्तोसुकै कदम चाल्नसक्ने भएकाले पनि आफू जसपासँग गठबन्धनको पक्षमा नरहेको र सोही असन्तुष्टि स्वरुप स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए ।
मधेस प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार गर्नेमा पार्टी नै जसपा रहेको र आफूले यस विषयमा पटकपटक आवाज उठाउँदै आएको नेता साहले स्मरण गराए । यस्तो अवस्थामा अहिले जसपासँगै गठबन्धन गरेर हिँड्न आफूलाई नैतिक रुपमा नसुहाउने हुनाले स्वतन्त्र उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।
