जनकपुर, असोज २५

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगले मंगलबार साँझ ७ बजे भित्रसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ ।

त्यस्तै बुधबार विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ भने ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्यतालिकामा रहेको छ ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथि भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।

उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि भएमा उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने आयोगले जनाएको छ ।