रौतहट, असोज २७

रौतहटबाट एक भारतीय नागरिक लाखौँ रुपैयाँसहित पक्राउ परेका छन् ।

रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाख रुपैयाँभन्दा बढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्तको सीतामढी जिल्ला बैरगनिया–६ बस्ने ३६ वर्षीय राजकुमार भगत रहेको रौतहट प्रहरीले जनाएको छ ।

प्क्राउ परेका भगतसँग ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।

प्रवक्ता मल्लले दिएको जानकारी अनुसार बुधबार दिउँसो जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेको थियो ।

चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकललाई पनि चेक जाँच गर्दा स्रोत नखुलेको नौ लाख रुपैयाँ फेला परेको प्रवक्ता मल्लले बताए ।

बरामद रुपैयाँ र मोटरसाइकलसहित भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।