जनकपुर, असोज २७

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्र्वाचन क्षेत्रलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ठ नेता राजेन्द्र महतो र नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि बिचको प्रतिस्पर्धाले चर्चाको शिखरमा पुरयाएको थियो । तर यस पटकको निर्वाचनमा धनुषा ३बाट न महतो छन् न त निधि नै । यद्यपि पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारीले यो निर्वाचन क्षेत्रलाई फेरी चर्चामा ल्याएको छ ।

जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएकी थिइन् । यस क्षेत्रमा प्रत्यक्षतर्फ सधैंजसो कांग्रेस उम्मेदवार बन्ने निधि यस पटक समानुपातिक पद्धति रोजेर सुरक्षित भइसकेका छन् ।

धनुषा ३ मा बिगतमा जस्तो प्रतिस्पर्धा यसपटक नहुने कतिपयको बुझाइ छ । २०७४ का दुई बलिया प्रतिस्पर्धी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र कांग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छैनन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महतोले कांग्रेस नेता निधिलाई २ हजार ९सय ३मतको मतान्तरले पराजित गर्दै जित निकालेका थिए । महतोले ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधी २७ हजार ८४७ मतमा सिमित भएका थिए ।

निधि समानुपातिकमा गए भने महतोले यस पटक गृह जिल्ला सर्लाही २ मा उम्मेदवारी दिएका छन् ।

अब एमालेबाट जुली र लोसपाबाट अनिल झा बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । झा २०७४ को निर्वाचनमा रौतहट १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसपटक पाँच दलीय भागबण्डामा रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमानर नेपाल उम्मेदवार बनेपछि उनको रोजाइमा धनुषा ३ परेको हो ।

जुली र झाले जे जस्तो दावी गरेपनि यस क्षेत्रमा को विजयी हुन्छ भन्नलाई कांग्रेस पार्टी र नेता विमलेन्द्र निधिको भूमिका के हुन्छ त्यसमा निर्भर हुने देखिन्छ ।

२०७४ को निर्वाचन जस्तो अहिले यो क्षेत्र मधेशवादी दलका लागि बलियो जनाधार देखिँदैन । मधेश केन्द्रित दलहरु जसपा र लोसपा दुई अलग गठबन्धनमा छन् । मधेश आन्दोलनको प्रभाव पनि कम हुँदै गएको छ । स्थानीय सरकारमा लोसपाको बलियो पकड पनि छैन ।

धनुषा क्षेत्र नं. ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधाम बाहेक नगराइन नगरपालिकाको सबै ९ वटा वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस क्षेत्रमा पर्छ ।

गत स्थानीय तहको नतिजा हेर्ने हो भने भने यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । दोस्रोमा एमाले छ । ३८ मध्ये आधा अर्थात १९ वटा वडा एक्लै कांग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले ४, लोसपाले ३ र नेकपा एकीकृत समाजवादीले १ वडामा जित निकालेको छ ।

गएको स्थानीय चुनावमा ३८ वटा वडाको वडाध्यक्ष पदमा पार्टीहरुले पाएको मत जोड्ने हो भने पहिलो स्थानमा कांग्रेस देखिन्छ । उसको २२ हजार ४२९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले ८ हजार २२४ र लोसपाले १ हजार १६३ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले ३ हजार ७१३ र सबभन्दा कम नेकपा माओवादी केन्द्रले ६५६ मत प्राप्त गरेको निर्वाचन आयोको तथ्यांकमा छ । कुल मत जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिन्छ ।
लोसपा उम्मेदवार झाको जितको लागि कांग्रेसको मतको महत्वपूर्ण छ । यो चुनावमा कांग्रेसको तर्फबाट अन्तरघात हुने कुनै सम्भावना नरहेको नेता तथा मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको दावी छ ।
‘पानी जति बाँधे पनि अलि–अलि चुहिन्छ नै । यो कुनै पनि निर्वाचनमा हुन्छ । तर यसपालि अन्तरघात हुँदैन भन्नेमा ढुक्क हुनुस् । गठबन्धनको जित निश्चित छ’, धनुषा ३ (क) प्रदेशसभामा उम्मेदवारी समेत दिएका यादवले भने ।

तर निधि र महतो अनुपस्थित भएपछि जुलीलाई सहज भएको अर्काथरीको अनुमान छ । आफ्नो लागि यो क्षेत्र जित्न खासै चुनौतीपूर्ण नहुने जुलीको पनि बुझाइ छ । ‘म जनताले विश्वास गरेको पार्टी र जनताले विश्वास गरेको उम्मेदवार हुँ । मेरो जितले यो क्षेत्रको विकास, समृद्धि र सुशासन हुन्छ भन्ने जनताको बुझाइछ । यो नै मेरो जितको आधार हो’, जुलीले भनिन् ।

तर यसअघि लोसपाका नेता राजेन्द्र महतोले यो क्षेत्रबाट जितेको हुनाले आफूहरुका लागि विजय सहज हुने झाको बुझाइ छ । ‘लोसपाले यसअघि यो क्षेत्र जितेको थियो । त्यसबेला यहाँ विकासका महत्वपूर्ण कामहरु भएका छन् । गठबन्धनको भारी मत छ । मैले जित्ने थुप्रै आधारहरु छा’, उनले भने ।

जुली र झाले जे जस्तो दावी गरेपनि यस क्षेत्रमा को विजयी हुन्छ भन्नलाई कांग्रेस पार्टी र नेता विमलेन्द्र निधिको भूमिका के हुन्छ त्यसमा निर्भर हुने देखिन्छ ।