जनकपुर, असोज २७

नेकपा (एकिकृत समाजवादी) की मञ्जु कुमारी यादवले महोत्तरी निर्वाचन क्षेत्र २ को ‘क’ मा पाँच दलीय गठबन्धनको अधिकारीक उम्मेदवार रहेको दावी गरेकी छिन् ।

पाँच दलीय गठबन्धनबाट उनले पार्टीको चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रेकी छन् । उनी औपचारिक रुपमै प्रचार प्रसारमा जुटिसकेकि छन् ।

तर महोत्तरी २को ‘क’ गठबन्धनको उम्मेदवारको आधिकारिताको विषयमा विवाद देखिएको छ ।

सोही क्षेत्रबाट सत्ता गठबन्धनकै घटक दल लोसपाका जयनुल राइनले पनि उम्मेदवारी दिएका छन् । राइनले आफू गठबन्धनको आधिकारिक उम्मेदवार रहेको भन्दै प्रचार गर्न थालेपछि त्यहाँ विवाद चुलिएको हो ।

पाँच दलिय गठबन्धनबाट जसपा बाहरिएपछि नेपाली काँग्रेसले आफ्नो भाग दिएर लोसपालाई भित्रयाउने गठबन्धनभित्र सहमती भएको थियो । कांग्रेसले आफ्नो भागको सीट दिएर लोसपालाई गठबन्धनमा ल्यायो पनि ।

लोसपाका राइनले उम्मेदवारी दिएको क्षेत्र महोत्तरीको २ ‘क’ पहिले नै नेकपा (एस)को भागमा परि सकेकाले आफू गठबन्धनको अधिकारीक उम्मेदवार रहेको यादवले दावी गरिन् ।

यादवले भनिन् ‘राजनीतिमा अनुशासन तथा सम्झौताको पालन अपरिहार्य हुन्छ तर लोसपाले राइनलाई उम्मेदवारी दिन लगाएर सम्झौता विपरित कार्य गरेको छ ।’ लोसपालाई कांग्रेसले गठबन्धनमा ल्याएको छ, यादवले भनिन ‘गठबन्धनको मर्म अनुरुप सम्झौता पालन गर्न कांग्रेस र लोसपा दूबै दललाई पालन गर्न आग्रह गर्न चाहन्छु ।’ कांग्रेसले लोसपालाई गठबन्धनमा ल्याउनु पूर्व नै आफूलाई टिकट दिइएकोले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार रहेको उनको भनाई थियो ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर २मा पाच दलिय गठबन्धनबाट प्रतिनिधिसभामा लोसपाका शरतसिंह भण्डारी, प्रदेशसभाको लागि ‘क’ मा नेकपा एकिकृत समाजवादीकी मञ्जु यादव, लोसपाका जयनुल राइन र ‘ख’मा काँग्रेसका नागेश्वर राय उम्मेदवार छन् ।