जनकपुर, असोज २७

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपाल बाहेकका दलका मन्त्रीहरुलाई हटाउने तयारी थालेका छन् भने जसपा इतरका मन्त्रीहरु सामुहिक राजिनामा दिने मनस्थितिमा पुगेका छन् ।

सत्तारुढ जसपा नेपालको नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्री तथा राज्यमन्त्रीहरुलाई पदबाट बर्खास्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा नेपाल संघ सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्न लागेका हुन् ।

सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गरेकोले जसपाका चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले संंघीय सरकारबाट हटाउँदा मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सत्ता गठबन्धनबाट सहभागी ६ मन्त्री र २ राज्यमन्त्रीलाई बर्खास्त गर्न लागेका तयारीमा रहेका छन् ।
यता काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट रहेका मन्त्रीहरुले पनि सामुहिक रुपमै राजिनामा दिने उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले जानकारी दिए ।

कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंह, माओवादीबाट गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुबीकुमारी कर्ण तथा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, राज्यमन्त्री नागेन्द्र राय यादव एवं कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवलाई जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा सहभागी रहेका छन् ।

कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह २०७८ जेठ २६ गते मन्त्री बनेका थिए भने नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह र रुवीकुमारी कर्णले साउन २ गते शपथ लिएका थिए ।