जनकपुर, असोज २७
धनुषामा अवैध उत्खननलाई स्थानीय जनप्रतिनिधिहरुकै साथ र संरक्षण रहेको पाइएको छ ।
धनुषाको औरही खोलामा मिथिला नगरपालिकाका जनप्रतिनिधिकै संरक्षणमा अवैध उत्खनन हुने गरेको पाइएको हो
अबैध रुपमा उत्खनन गर्दै ग्राभेल, बालुवा तथा ढुंगा उत्खन्न गरी बिक्री वितरण गर्दै आएको उपकरणलाई कारबाही नै नगरी मिथिला नगरपालिकाले छाडेको हो ।
असोज १२ मा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको नेतृत्वमा अनुगमन टोलीले अवैध उत्खनन भइरहेको अवस्थामा औरही खोलाबाट ना १ क ४४४७ नम्बरको जेसीवी १ थान, प्रदेश नं.२—०३—००१ क १९७६ नम्बरको टिपर १ थान, प्र.०३—००१त ७३२३ र प्र.०३—००१त ७३२४ नम्बरको ट्रयाक्टर २ थान नियन्त्रणमा लिएको थियो । सो उपकरणहरु इलाका प्रहरी कार्यालय ढल्केवरलाई जिम्मा लगाएको थियो ।
मेयर महतो स्वास्थ्य परीक्षणका लागि भारतको दिल्ली पुगेपछि उपमेयर बुढाथोकीले भने कार्यालयको पत्र काट्दै जरिवाना नै नगरी उपकरण छाडेकी छन् ।
कारबाहीको लागि नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक जरिवाना समेत नलिई सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको मिथिला नगरपालिका कार्यालयले जनाएको छ ।
क्रसर माफिया संगको मिलोमतोमा उपमेयर बुढाथोकीले अवैध उत्खन्नलाई छुट दिएको स्थानीयवासीहरुकै आरोप छ । उपमेर बुढाथोकीले पत्र काट्दै उक्त सवारीसाधन नगरकार्यपालिकाका सदस्य बिशेश्वर साह हलुवाईको जिम्मा लगाउन भनेकी थिइन् । तर ती उपकरण उत्खनन गर्नेले लगेको स्थानीयबासिन्दाको भनाई छ ।
चुरे क्षेत्र अवस्थित खोलालगायतलाई अव्यवस्थित तथा अवैधरुपमा उत्खनन गर्दा ठाउँठाउँमा गहिरो भंगालो बनाएको छ । नदीजन्य ठाउँ र वरपरबाट बालुवा, ग्राभेल उत्खन्न, प्रशोधन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ ।
खोलाको प्राकृतिक बहावको दायाँबायाँ तीन सय मिटर उत्खनन गर्न नपाइने कानूनमै प्रावधान रहेको छ ।
तर अवैध उत्खन्नमा भने जनप्रतिनिधिहरुकै मिलोमतो रहेको आरोप लाग्दै आएको छ ।
