जनकपुर, असोज २८
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामकुमार शर्माले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको कडा आलोचना गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उम्मेदवारी महन्थ ठाकुरकै कारण फिर्ता गर्न लगाएको दाबी गर्दै कडा आलोचना गरेका हुन् ।
केन्द्रिय सदस्य शर्माले लेखेका छन्, ‘यसपाली महन्थ ठाकुरले मेरो उम्मेदवारी खारेज गराउन प्रचण्डजीलाई नै प्रयोग गर्न सफल हुनुभयो ।’
सत्ता गठबन्धनमा भएको सहमति अनुसार महोत्तरी ३ (ख) मा प्रदेशसभा सदस्यका लागि रामकुमार शर्माले उम्मेदवारी दिएका थिए । तर लोसपा र कांग्रेसबीच भएको सहमतिअनुसार सो क्षेत्र लोसपाको भागमा पर्यो । गठबन्धनको साझा उम्मेदवार आफू रहेको भन्दै नेता रामकुमार शर्मा चुनाव प्रचार प्रसार थालिसकेका थिए । यता लोसपाले सो क्षेत्रमा आफ्नो दाबी निरन्तर राख्यो र त्यसको दबाब गठबन्धनमा रहेका दल कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि निरन्तर बनाइरह्यो ।
अन्त्यमा माओवादी केन्द्रले नै निर्वाचन आयोगमा पत्र पठाएर रामकुमार शर्माको उम्मेदवारी फिर्ता लिएको थियो । पार्टीले नै उम्मेदवारी फिर्ता लिएपछि रामकुमार शर्मा पार्टीले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
उनले भने, ‘यस विषयमा मैले अध्यक्ष प्रचण्डसँग एक घण्टा कुरा गरेँ । त्यो कुरामा अध्यक्ष प्रचण्डले प्रष्टसँग भन्नुभयो कि महन्थजीको दबाब थेग्न नसकेर यो कदम चालिएको हो ।’ उम्मेदवारी खारेजीका सम्बन्धमा अध्यक्ष प्रचण्डले आफूलाई विस्तारमा सुनाएको बताउँदै शर्माले भने, ‘मेरो उम्मेदवारी खारेज नभए आफू गठबन्धनबाटै बाहिरिने चेतावनी महन्थ ठाकुरले दिनुभएको रहेछ ।’
उनले आफ्नो राजनीतिक जीवनसँग लोसपाका अध्यक्ष ठाकुरले निरन्तर खेलवाड गरेको बताएका छन् । २०७४ को चुनावमा अध्यक्ष ठाकुरले कांग्रेसका नेता बजरंग नेपालीको उम्मेदवारी बलपूर्वक खारेजी गराउनु र यसपटक आफ्नो उम्मेदवारी त्यसैगरी खारेज गराएर जनतामा जाने, चुनाव लड्ने लोकतन्त्रको महापर्वबाटै बञ्चित गराउनु घोर अन्याय भएको उनले भने ।
उनी तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट संविधानसभा सदस्य भएका छन् भने माओवादी केन्द्रबाट उनकी श्रीमति ईन्दु शर्मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य भएका हुन् ।
उनले अन्तिम समयमा आएर पार्टीबाट पाएको टिकटबाट उम्मेदवारी दिदाँ पनि महन्थ ठाकुरका कारण रानी शर्मा तिवारीका लागि सो सिट छोड्नु परेको हो । सो सिट छाडेपछि उनले प्रचण्डसँग गरेका कुराकानीहरुसमेत सामाजिक सञ्जालमा पोस्ट्याएका हुन् ।
माओवादीमा उनले पटक पटक पद पाउँदै आएका छन् ।
