जनकपुर, असोज २९

मधेश प्रदेशमा सात प्रतिशतले मात्रै स्वास्थ्य विमा गराएका छन् ।

मधेश प्रदेशका ८ वटै जिल्लामा स्वास्थ्य विमाको अवस्था सन्तोषजनक छैन । मधेश प्रदेशमा कूल जनसंख्याको सात प्रतिशतले मात्र स्वास्थ्य विमा गराएका छन् ।

मधेश प्रदेशमा कुल जनसंख्या करिब ६२ लाख रहेका छन् । तर अहिलेसम्म ४ लाख १२ हजार ९ सय ९४ जनाले मात्र स्वास्थ्य विमा गराएको छ ।

२०७४ साल माघ २५ गते मधेश प्रदेशको महोत्तरी जिल्लावाट स्वास्थ्य विमा कार्यक्रम लागु भएको स्वास्थय विमा अहिले प्रदेशको ८ वटै जिल्लामा लागु छ ।

स्वास्थ्य विमा गराउने मध्ये २ लाख १० हजार ७ सय १४ पुरुष र २ लाख २ हजार ५ सय ८० महिला रहेको स्वास्थ्य विमा वोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले जानकारी दिए । स्वास्थ्य विमा गराएकाहरुले पनि पुनः दत्र्ता नगराउने पनि ठूलो समस्याको रुपमा रहेको छ । यस प्रदेशका सरकारी तथा नीजि गरेर ८ वटै जिल्लामा ४८ वटा स्वास्थ्य संस्थाहरुले विमा गर्ने गरेका छन् ।

सिरहा जिल्लामा कूल विमित मध्ये १ लाख ५ हजार ४ सय जनाले विमा गराएको छ । सवै भन्दा कम सर्लाही जिल्लामा विमा गराउनेहरु रहेका छन् । सर्लाही जिल्लामा २३ हजार ६ सय ५५ जनाले विमा गराएको पनि विमा वार्डको प्रादेशिक कार्यालयले जनाएको छ । सिरहा जिल्लामा अतिविपन्न समूहमा पर्ने १ हजार ८ सय १४ जनाले विमा गराएका छन् ।

स्वास्थ्य विमा गराएकाहरुले स्वास्थ्य विमा सहजरुपमा नपाउँदा स्वास्थ्य विमा प्रतिको रुचि घटेको हो ।

विमा गर्ने संस्थाले अस्पतालले गरेको विमितको उपचार खर्च समयमा भुक्तानी नगर्दा विमा गराउनेको गति मधेश प्रदेशमा सन्तोषजनक छैन । स्वास्थ्य विमा कार्यक्रमलाई सफल बनाउनका लागि सबै पक्षको संयुक्त सहकार्य हुन आवश्यक रहेको स्वास्थ्य निर्देशक विजय कुमार झाले बताए ।