बागलुङ, असोज ३१

धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले यस वर्षका दुई साहित्यिक पुरस्कारको निर्णय सार्वजनिक गरेको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘बम–सरस्वती स्मृति पुरस्कार’ कपिलवस्तु, तौलिहवाका साहित्यकार सकुन्तला शर्मा पौडेल र ‘हिमलाल–मन्सरा स्मृति पुरस्कार’ बागलुङ, बलेवाका साहित्यकार तुलसी पौडेललाई प्रदान गरिने भएको हो ।

दुवै पुरस्कारको राशी दस हजार रुपैयाँ रहेको छ । यही कात्तिक १८ गते बागलुङ सदरमुकाममा आयोजना हुने विशेष समारोहबीच सो पुरस्कार समर्पण गरिने प्रतिष्ठानले जनाएको छ । पुरस्कारका लागि छनोटमा पर्नुहुने शर्मा पौडेल कपिलवस्तु नारी साहित्य समाजका अध्यक्षसमेत हुन् ।

बलेवाका पौडेलको ‘बुद्ध बनेका सिद्धार्थ’ कविता कृतिलगायत फुटकर लेख रचना प्रकाशित छन् । ‘हिमलाल–मन्सरा स्मृति पुरस्कार’ पहिलोपटक पौडेललाई प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । बलेवा निवासी डा प्रेमप्रसाद शर्माले दिवङ्गत बुवाआमाका नाममा सो पुरस्कार स्थापना गरेका छन् ।

प्रतिष्ठानमा स्थापित उक्त पुरस्कारबाट यसअघि नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ, पाल्पाका पुष्कर ‘अथक’ रेग्मीलगायत पुरस्कृत गरेको थियो ।