जनकपुर, असोज ३१
आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने भन्दै आएपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषाको एक चुनावीसभामा लोकतान्त्रिक पद्धतिमा साना दललाई रेस्क्यु गर्नुपर्ने धारणा राखेका थिए ।
एमाले अध्यक्ष ओलीले त्यो दिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लागि इंगित थियो । तर अन्तिम समयमा आएर जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा प्रवेश पाएको थियो । लोसपा सत्ता गठबन्धनसंग टासिएपछि जसपा एमालेसंग चुनावी तालमेल गरेको थियो ।
जसपा विभाजित भएपछि शक्ति क्षिण भएकाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई कुनै न कुनै दलसंग गठबन्धन गरेर चुनावमा उतरिनु पर्ने बाध्यता थियो । शुरुमा सत्ता गठबन्धनसंगै रहेका यादव सीट बाँडफाँडमा कुरा नमिलेपछि नाटकिय ढंगले एमालेसंग गठबन्धन गर्न पुगेका थिए । एमालेसंग गठबन्धन गरेको जसपाको स्थिति अब मधेसमा कस्तो रहला, पछिल्लो निर्वाचनमा मधेसमा कमजोर स्थितिमा पुगेको एमालेको कस्तो स्थिति रहला, आगामी दिनमा मधेसको राजनीनितिमा कस्तो असर पर्ला लगायतका विषयमा चर्चा शुरु भई सकेको छ ।
जसपा मंसिर ४ गते हुने निर्वाचनका लागि मधेस प्रदेशमा १५ प्रतिनिधिसभा क्षेत्र र ३२ प्रदेशसभा क्षेत्रमा चुनावी मैदानमा छ । २०७४ सालको निर्वाचनमा मधेस प्रदेशमा रहेको ३२ निर्वाचन क्षेत्रमध्ये तत्कालिन संघिय समाजवादी पार्टीले १० र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले ११ प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको थियो । यी दुई दल मिलेर निर्वाचनमा भाग लिदा प्रदेशसभामा समेत राम्रै उपस्थिति देखिएको थियो । मधेस प्रदेशमा रहेको प्रदेशसभा तर्फ ६४ निर्वाचन क्षेत्रमध्ये तत्कालिन संघिय समाजवादी पार्टीले २० र तत्कालिन राजपाले १५ क्षेत्रमा गरी कुल ३५ निर्वाचन क्षेत्रमा जीत निकालेको थियो । त्यस्तै ४.१६ मत ल्याएको तत्कालिन समाजवादी पार्टीले समानुपातिकमा प्रतिनिधिसभा तर्फ ६ र ३.२२ प्रतिशत मत पाएको तत्कालिन राजपाले ६ सीट समानुपातिकमा पाएको थियो ।
पछि यी दूबै दल एकता गरेर जसपाको उदय भयो । मधेसमा एउटा ठूलो शक्तिको रुपमा उदय भएको जसपा पार्टी भित्रै बर्चस्वको लडाई तथा पदलोलुप्ताका कारण विभाजित हुन पुग्यो । तत्कालिन संघिय समाजवादी पार्टीको खेमाले जसपाको अधिकार पायो भने तत्कालिन राजपा खेमाका नेताहरुलाई लोसपाको निर्माण गर्नु पर्यो ।
जसपा एमालेसंग चुनावी तालमेल गरेर यस पटक मधेश प्रदेशमा १५ प्रतिनिधिसभा क्षेत्र तथा ३२ प्रदेशसभाका उम्मेदवारहरु चुनावी मैदानमा उम्मेदवार उतारेको छ । पहिलेभन्दा शक्ति केही हदसम्म शक्ति क्षिण भएको जसपालाई २०७४भन्दा कमजोर परिणाम आउने कालन गरिएको समयमा जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले राम्रो परिणाम ल्याउने दावी गरेका छन् ।
उनले १५ प्रतिनिधिसभा क्षेत्रमध्ये कम्तीमा १० र ३२ प्रदेशसभा मध्ये कम्तीमा २५ क्षेत्रमा जीत निकालेको दावी गरे । तत्कालिन राजपा र अहिलेको लोसपाका कयौँ नेताहरु जसपामै लागि सकेकाले पहिलेभन्दा राम्रो परिणाम आउनेमा आफूहरु ढुक्क रहेको जसपा प्रदेश अध्यक्षको दावी छ ।
जबकि एमालेसंगको चुनावी तालमेलका कारण जसपालाई मधेस प्रदेशमा ठूलै धक्का लाग्न सक्ने अनुमान राजनीतिक विश्लेषकहरुको छ । नागरिकता विधेयक पास हुन नदिनुमा एमाले कारक रहेको जनबुझाईका कारण जसपा नागरिकता विधेयकको बिरोधी दलसंग चुनावी तालमेल गरेकोमा मधेसका जनतामा रोष समेत देखिएको छ ।
तर जसपाका मधेस प्रदेश अध्यक्ष यादवले यसले कुनै किसिमको असर नगर्ने बरु जसपाको शक्तिमा थप बढावा हुने दावी गरे । उनले भने ‘नागरिकता विधेयक पास नहुनुमा एमाले ठूलो कारक भएकाले एमालेसंगै चुनावी तालमेल गर्दा त्यो समस्या समाधान सहज हुने भएकाले तालमेल गरेका छौँ ।’ यदि एमालेले चुनावपछि पनि यसमा आनकानी गरे आफूहरुले एमालेलाई मधेसमा फेरी नंग्याउने यादवले बताए ।
जसपा मधेस प्रदेशको सप्तरी १, सप्तरी २बाट जसपा अध्यक्ष उपेन्द्र यादव, सप्तरी ४मा बालकिशोर यादव, सिरहा २मा राजकिशोर यादव, सिरहा ४मा डा. वीरेन्द्र महतो, धनुषा १मा दीपक कार्की, धनुषा २मा गंगाराम यादव, महोत्तरी ३मा हरिनारायण यादव, महोत्तरी ४मा डा. सुरेन्द्र यादव, सर्लाही १मा प्रमोद साह, सर्लाही ४मा राकेश मिश्र, रौतहट २मा शैलेन्द्र साह, बारा २मा रामसहाय यादव, पर्सा १मा प्रदीप यादव र पर्सा २मा सुरेन्द्र कुर्मी जसपाबाट प्रतिनिधिसभाका लागि चुनावी प्रतिस्पर्धामा छन् ।
स्थानीय तहको पछिल्लो परिणामलाई आधार मान्ने हो भने सप्तरी २मा सत्ता गठबन्धनको ३३ हजार १ सय ८४ मत छ भने एमाले जसपा गठबन्धनसंग २० हजार २ सय ५४ मत छ । त्यस्तै सप्तरी ४मा सत्ता गठबन्धनको २५ हजार ७ सय २३ मत छ भने एमाले जसपा गठबन्धनको ३५ हजार १ सय ७१, सिरहा २मा सत्ता गठबन्धनको ३३ हजार ८ सय ९५ मत छन भने एमाले जसपा गठबन्धनको ३२ हजार २ सय ४८ मत छ, सिरहा ४मा सत्ता गठबन्धनको २८ हजार २ सय ९९ मत छ भने एमाले जसपा गठबन्धनको २८ हजार २ सय ८५, महोत्तरी ३मा सत्ता गठबन्धनको २९ हजार ५ सय ४३ मत छ भने एमाले जसपा गठबन्धनको २५ हजार १ सय ७७ मत छ, महोत्तरी ४मा सत्ता गठबन्धनसंग ३७ हजार ८ सय ६२ मत छ भने एमाले जसपा गठबन्धनसंग २० हजार १ सय ४० मत छ ।
त्यस्तै धनुषा १मा सत्ता गठबन्धनसंग ३० हजार ८ सय ६२ मत छ भने एमाले जसपा गठबन्धनसंग १७ हजार ५ सय २४ मत मात्रै छ । रौतहट २मा सत्ता गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा ४४ हजार १ सय ७० मत परेको थियो भने एमाले जसपा गठबन्धनलाई २७ हजार ६ सय ८३ मत मात्रै परेको थियो । बारा २मा सत्ता गठबन्धनको ३९ हजार ६ सय ७१ मत छ भने एमाले जसपा गठबन्धनसंग ४० हजार २ सय ४६ मत छ, पर्सा १मा सत्ता गठबन्धनको २० हजार ३ सय ३७ मत छ भने एमाले जसपा गठबन्धनको २९ हजार ४१ मत छ र पर्सा २मा सत्ता गबन्धनसंग २८ हजार २ सय १९ मत छ भने एमाले जसपा गठबन्धनसंग ३२ हजार १ सय ६३ मत छ ।
स्थानीय तहमा पाएको मतलाई आधार मान्ने हो मधेस प्रदेशमा एमाले जसपा गठबन्धन मधेस प्रदेशको एकाध स्थान बाहेक कुनै पनि स्थानमा मजबुत स्थितिमा देखिदैन ।
