जनकपुर, असोज ३१

पाँच दलीय गठबन्धनबाट धनुषा– ३ मा उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झालाई जिताउनका लागि नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि जनकपुरधाम आईपुगेका छन् ।

काठमाण्डौँबाट जनकपुरधाम आईपुगेका पूर्वगृहमन्त्री समेत रहेका नेता निधिले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेता निधिले गठबन्धनका उम्मेदवार रहेका अनिल कुमार झालाई जिताउनका लागि पार्टी, कार्यकर्ता र हामीले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘ अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ, यसका लागि हामीले जस्तोसुकै सहयोग गर्न तयार छौँ ।’
उनले अबदेखि आफु गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भवरुपमा लागि पर्ने बताए । उनले यसका लागि अबदेखि आफु चुनावसम्म जनकपुरधाममै रहने समेत घोषणा गरे ।

उनले भने, ‘चुनावसम्म आफु जनकपुरधाममै रहने र यहाँ रहेर गठबन्धनकै उम्मेदवारलाई जिताएर मात्रै फर्किनेछु ।’

No description available.

उनलाई स्वागत गर्नका लागि पूर्वमन्त्री समेत रहेका धनुषा– ३ का आकांक्षी उम्मेदवार अनिलकुमार झा, आकांक्षी उम्मेदवार प्रदेशसभा सदस्य समेत रहेका पूर्वमन्त्री रामसरोज यादवलगायत काँग्रेस, लोसपासहित पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।