जनकपुर, कार्तिक १

जनता समाजवादी पार्टी (जसपा) केही साता अगाडीसम्म सत्ता गठबन्धनसंग टासिएको थियो । तर चुनावी तालमेलको क्रममा सीट बाँडफाँडमा कुरा नमिलेपछि नाटकीय ढंगले एमालेसंग चुनावी तालमेल गरेको थियो । जसपालाई एमालेसंग चुनावी तालमेल गराउनका लागि पहल गर्ने मध्येका नेता हुन् एमालेका सचिव रघुवीर महासेठ । असोज २०मा सत्ता गठबन्धनको छलफल छाडेर हिँडेका जसपाका अध्यक्ष उपेन्द्र यादव एमाले सचिव महासेठकै घरमा पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यहीँ भएको छलफलले सहमतिको आधार तय गरेको थियो ।

ओली र यादवले असोज २२मा तराई मधेशका १४ जिल्लामा तालमेल गर्ने सहमतिमा हस्ताक्षर पनि गरे । तर तालमेलका पहलकर्ता महासेठ स्वयंलाई भने जसपाले समर्थन गर्न अस्वीकार गर्यौ । एमालेले पार्टी सचिव महासेठलाई धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । उनले २०७४ मा पनि यही क्षेत्रबाट चुनाव जितेका थिए ।

जसपाले यो क्षेत्रमा महाजन यादवलाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ पनि दुबै दलले आ–आफ्नो उम्मेदवार उठाएका छन् । एमालेले (क) मा कांग्रेस छाडेर आएका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्वमेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ । जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उठाएको छ ।

जबकी दुई अध्यक्षले हस्ताक्षर गरेको सहमतिमा धनुषा–४ को प्रतिनिधिसभासँगै प्रदेश सभा (क) एमालेले लिने र (ख) जसपाले लिने उल्लेख छ । एमाले सचिव महासेठ भन्छन्, ‘पहिले सहमति भयो, तर जसपामा विद्रोहको कुरा उठ्यो । जसपाका साथीहरुले हाम्रो पार्टीमा विद्रोह हुने भयो भनेपछि हामीले ठीकै छ । दुईमा मित्रवत प्रतिस्पर्धा हुँदैछ भने अर्कोमा पनि होस् भन्यौं ।’

जसपा, धनुषाका अध्यक्ष पशुपति यादव पनि दुबैले छाड्न नसक्ने भएपछि तालमेल हुन नसकेको बताउँछन् ।

महासेठ र यादवसँगै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादवसहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । हास्य कलाकार कृष्णकुमार महतो स्वतन्त्र उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र जसपाका उम्मेदवारबीच हुने देखिन्छ ।

२०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो । वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५सय ३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी दलको गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६सय ६२ मत पाएका थिए ।

महासेठ र महाजन दुबैले अघिल्लो चुनावका सहयात्री गुमाएका छन् । त्यो बेला रघुवीरको साथमा रहेका माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुबै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा छ । एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ ।

वैशाख ३०मा भएको स्थानीय निर्वाचनको मत परिणामले पनि कांग्रेसलाई बल दिएको छ । धनुषा ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ भने क्षिरेश्वरनाथ नरपालिकाको बहुसंख्यक वडा पनि जितेको छ । क्षिरेश्वरको नेतृत्व एमालेले जितेको छ भने मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा एमालेले जितेको छ ।

यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरको वडा नं. ८ र ९, मिथिला विहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९, १३, १४, १९, २१ र २२ गरी पाँचवटा भने पर्दछ ।

यो क्षेत्रमा पर्ने वडाहरुमा वडाध्यक्ष पदका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेस र एमालेको शक्ति उस्ताउस्तै देखिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २६ हजार १५९ मत पाउँदा एमालेकाले २४ हजार ३९४ मत पाएका थिए । जसपाले ८ हजार ३८८, एकीकृत समाजवादीले ८ हजार १६४, माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले एक हजार ९५० मत पाएका थिए ।

कांग्रेस उम्मेदवार महेन्द्र यादव स्थानीय निर्वाचनमा पाएको मत र गठबन्धनमा रहेको दलहरुको साथ नै आफ्नो जितको आधार मान्छन् । ‘कांग्रेसले पाँचमध्ये ४ वटा पालिका जितेको छ । ४२ मध्ये २४ वडामा हाम्रो वडाध्यक्ष छ’, उनले भने ‘सत्ता गठबन्धनको मत जोड्दा एमालेभन्दा करिब दोब्बर हुन्छ । यो नै मेरो जितको बलियो आधार हो ।’

एमाले उम्म्मेदवार रघुवीरले भने कांग्रेसका पूर्व जिल्ला उपाध्यक्ष सन्तोष यादव र एकीकृत समाजवादीका सोम शर्मा लगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेकाले स्थानीय चुनावको गणित फेरबदल भइसकेको बताउँछन् ।

आफू मन्त्री हुँदा गरेको विकास निर्माणका काम गरेकाले चुनाव जित्ने दाबी गर्छन् । ‘पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो । म निर्वाचित भएपछि छोटो समयमै धेरै पुल, कालोपत्रे सडक निर्माण गरे । एउटा पनि यस्तो मठमन्दिर, मस्जिद र गुम्बामा छैन, जसमा मैले सहयोग नगरेको होस् । त्यसैले मप्रति जनताको ठूलो विश्वास छ । यो नै मेरो जित्ने बलियो आधार छ’ उनले भने ।

जसपाका उम्मेदावर महाजन पनि आफू जित्ने दाबी गर्छन् । स्थानीय चुनावी नतिजाले क्षेत्रीय चुनावमा खासै फरक नपार्ने भन्दै उनले भने, ‘रघुवीर र महेन्द्रलाई जनताले नजिकबाट चिनेका छन् । पटकपटक सांसद मन्त्री हुँदा पनि जनअपेक्षा अनुसार काम गर्न सकेनन् । उनीहरुप्रति जनतामा वितृष्णा छ ।’

अघिल्लो चुनावमा आफू झिनो मतान्तरले पराजित भएको भन्दै उनले भने, ‘म लामो समयदेखि जनतामा भिजेको नेता हुँ । ममाथि जनताको ठूलो विश्वास र भरोसा छ । विगतमा झिनो मतले मात्र पराजित भएँ । यसपटक जनताले ठूलो मतान्तरले जित्छु भन्नेमा आशावादी छु ।’

यो क्षेत्रमा बलियो प्रभाव भएका जसपाका नेता शेषनारायण यादवलाई कांग्रेस प्रवेश गराएर प्रदेश सभा (क) को उम्मेदवार बनाएका यादव भन्छन्, ‘महादेव डमी उम्मेदवार हो भनेर जनताले थाहा पाइसके, उनीहरुले मेरो भोट रोक्न सक्दैनन् ।’

सत्ता गठबन्धनबाट प्रदेशसभा (ख) मा भने एकीकृत समाजवादीका सत्रुधन महतो उम्मेदवार छन् ।