जनकपुर, कार्तिक ३
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी चलिरहँदा मधेस सरकार भ्रष्टाचारको आरोप खेपि रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट संचालित बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत गरिएको साइकल वितरणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा अभियोग पत्र नै दर्ता गरायो । जसको अनुसन्धान अहिले जारी नै छ । साइकल वितरणमा भ्रष्टाचार भएको अभियोग पत्र दर्ता भएको केही दिन नबित्दै निर्वाचनको मिति पनि घोषणा भयो ।
साइकल वितरणका साथै मुख्यमन्त्री स्वच्छता अभियानमा भ्रष्टाचार लागेको समयमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्साको निर्वाचन क्षेत्र नम्बर १(ख)बाट फेरी प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् । यीनै आरोपका बिच एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका मुख्यमन्त्री राउतलाई फेरी जित निकाल्नुपर्ने चुनौती छ ।
सोही क्षेत्रबाट सत्ता गठबन्धनको उम्मेदवार हुन् नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी । त्यस्तै कुनै बेला पर्सामा मधेश आन्दोलनको नेतृत्वकर्ता मध्येका एक ओमप्रकाश सर्राफले समेत मुख्यमन्त्री राउतले उम्मेदवारी दिएका छन् । लोसपाका नेता शशिकपुर मियाँ पनि मुख्यमन्त्री राउतको कार्यशैलीबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मुख्यमन्त्री राउतलाई चुनौती दिएका यी उम्मेदवारहरुले पछिल्लो ५ वर्षमा मधेस सरकारमा भएका चरम भ्रष्टाचार नै प्रमुख एजेण्डा बनाएर उनलाई घेराबन्दी गरिरहेका छन् । आफ्ना प्रतिस्पर्धीहरुको यो घेरालाई तोड्न मुख्यमन्त्री राउतका लागि सहज हुने देखिदैन ।
सत्तारूढ गठबन्धनबाट सो उम्मेदवारी कांग्रेस पर्साका उपसभापति २०७४ को निर्वाचनमा पराजित भएका थिए । पर्साको १(क) बाट २०७४मा उम्मेदवारी दिएका कुर्मी तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनबाट उठेका जन्नत अन्सारीसँग पराजित भएका थिए ।
सत्तारुढ गठबन्धनमा यस पटक सो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस नेता कुर्मी १ (ख)मा मुख्यमन्त्री राउत बिरुद्ध उम्मेदवारी दिएका हुन् ।
सो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले बागी उम्मेदवारी दिएका छन् । २०७४को निर्वाचनमा पनि उनी टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
२०७४ को निर्वाचनमा मुख्यमन्त्री राउत यसै क्षेत्रबाट ९ हजार ८ सय ४ मत ल्याएर जीत निकालेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विजय सर्राफले ६ हजार ८ सय २९ मत मात्रै ल्याउन सकेका थिए ।
मुख्यमन्त्री राउत बिरुद्ध भ्रष्टाचार मुख्य एजेण्डा
नेपाली कांग्रेस पर्साका उपसभापति समेत रहेका कुर्मी मुख्यमन्त्री राउतको विकल्पका रुपमा मतदाता माझ आफूलाई प्रस्तुत गर्दै आईरहेका छन् । पर्साका मुख्यमयन्त्री बन्दा समेत यहाँ जनता आशा गरे अनुरुप काम गर्न नसकेकाले यहाँका जनता निराश भएको कुर्मीको भनाई छ ।
यसअघि जनता माझ मुख्यमन्त्री राउतले गरेका प्रतिबद्धताहरुमध्ये कुनै प्रतिवद्धता पूरा गर्न नसकेकाले मुख्यमन्त्री बिरुद्ध यहाँका जनता क्रुद्ध रहेको उनको दावी छ । आफू निर्वाचनमा हार व्यहोरेपनि जनताकै बिच रहेर काम गरेकाले आफुलाई मतदाताले विश्वास गर्ने कुर्मीले बताए ।
विरगंजका सामाजिक अभियन्ता लोसपा वीरगंज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफले समेत मुख्यमन्त्रीलाई त्यो क्षेत्रमा चुनौती दिएका छन् । सर्राफ सामाजिक कार्यमा लामो समयदेखि सक्रिय छन् । वीरगंजले मुख्यमन्त्री पाएकोमा गर्व गर्नुपर्ने भएपनि मुख्यमन्त्रीले वीरगंजकालागि केही पनि गर्न नसकेकाले उनलाई विस्थापित गर्नुको विकल्प नरहेको सर्राफले बताए ।
सर्राफले २०७४ सालको निर्वाचनमा पनि मुख्यमन्त्रीकै विरुद्धमा स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । त्यतिबेला ५ सय ७१ मत मात्रै उनले ल्याएका थिए । साइकल वितरणमा अनियमितता, मुख्यमन्त्री स्वच्छता अभियान लगायतका योजना अपारदर्शीता देखिएको उनले आरोप लगाए । मधेस सरकार ५ वर्षको कार्यकाल भ्रष्टाचारकै बितेको भन्दै यसलाई नै आफ्नो ठूलो मुद्दा बनाएका छन् ।
मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका लोसपाका केन्द्रिय सदस्य रहेका शशिकपुर मियाँलाई पार्टीले टिकट नदिएपछि पार्टीबाट राजिनामा दिएर मुख्यमन्त्री राउत बिरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । मुख्यमन्त्री राउतको भ्रष्ट प्रवृति बिरुद्ध नै आफूले उनी बिरुद्ध उम्मेदवारी दर्ता गराएको मियाँले बताए । दलीय गठबन्धनले देशलाई निकास नदिने भएकाले जनता गठबन्धनबाट आक्रोशित भई सकेको उनले बताए । ‘यो गठबन्धन हैन, ठगबन्धन हो, मियाँले भने ‘ नेताहरुको टाउको मात्रै मिल्दैमा जनताले गठबन्धनलाई नै मत दिनुपर्ने कुनै बाध्यता छैन ।’ हिजोसम्म केपी ओली हत्यारा हो भन्ने पार्टीले मनोनयन गर्नुभन्दा २४ घण्टा अगाडी ओलीसँगै घाँटी मिलाउनुले जनता र देशका लागि नभई आफ्नो कुर्सी र पद जोगाउनकै लागि गठबन्धन गरिएको कुरा जनताले बुझि सकेको उनको भनाई छ ।
मुख्यमन्त्री राउत जीतमा विश्वस्त
पर्सा १(ख)मा राउत बिरुद्ध उम्मेदवारी दिएका उम्मेदवारहरु भ्रष्टाचारलाई मुख्य एजेण्डा बनाएपनि उनी आफ्नो जीतमा विश्वस्त रहेको बताउँछन् । आफूले विगत ५ वर्षमा गरेको कामलाई आधार बनाएर मतदाताले आफूलाई नै मत दिने विश्वास रहेको मुख्यमन्त्री राउतले दावी गरे । मधेश प्रदेश नामाकरण गरेर प्रदेशवासीलाई पहिचान दिलाउनुलाई उनी मुख्य उपलब्धीको रुपमा मतदाता माझ बुझाउने कोशिस गरिरहेका छन् ।
यसका साथै भ्रष्टाचारको आरोप लागेको बेटी पढाउ, बेटी बचाउ अभियान, मुख्यमन्त्री स्वच्छता अभियानका कारण प्रदेशमा कायापलट भएको दावी गर्दै मुख्यमन्त्री राउतले भने ‘मेरो कामबाट जनता सन्तुष्ट छन्, मलाई नै मत दिन्छन् ढुक्क हुनुस ।’ संघियता संस्थागत गर्नकै लागि विगत ५ वर्ष संघ सरकारसंग लडाई लड्दै आईरहेको कुरा जनतामाझ सर्वविदित रहेको उनको भनाई छ । यद्यपी वीरगंज महानगरपालिकाकालागि जति गर्न सक्नु पथ्र्यो त्यती गर्न नसकेको स्वीकार गरे । अब यीनै अधुरा कामहरु पूरा गर्नु नै मेरो लक्ष्य रहेको मुख्यमन्त्री राउतको भनाई छ ।
