जनकपुर, कार्तिक ३

स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको ईनारुवा नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंग प्रसाद गुप्ता रहेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

मंगलबार राति प्रदेश–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सवार भएर गईरहेको अवस्थामा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरस्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट कालो रंगको झोलामा स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएको प्रवक्ता क्षेत्रीले बताए ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले दुबैजनालाई नगदसहित नियन्त्रणमा लिई अनुसन्धान पश्चात आवश्यक कारवाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।