जनकपुर, कार्तिक ३
धनुषामा तस्करहरुले एम्बुलेन्सलाई तस्करीका लागि मुख्य माध्यमको रुपमा प्रयोग गरिरहेको तथ्य प्रहरीले फोला पारेको छ ।
बिरामी मान्छेलाई बोक्ने साधनको रुपमा रहेको एम्बुलेन्सको प्रयोग तस्करहरुले गरेको पाइएको छ ।
बिहीबार जनकपुरधामबाट एम्बुलेन्समा लोड गरिएको अवस्थामा तस्करीको सरसामानहरु धनुषा प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कटरैतबाट तस्करीको सरसामानसहित एम्बुलेन्स नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
एकाबिहानै सो ठाउँमा केही स्थानियबासी र सो एम्बुलेन्स चालकबिच बादविवाद भइरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले श्री माई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित मे.१ च. ३५० नम्बरको एम्बुलेन्समा भन्सार छली चोरी पैठारी गरी किरानाजन्य सामान तथा बिभिन्न किसिमका पटाकाहरु लोड रहेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।
भारतको जयनगरबाट जनकपुरधामतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी एम्बुलेन्समा लोड गरेर ल्याइरहेको किरानाजन्य सामान तथा बिभिन्न किसिमका पटाकाहरु नियन्त्रणमा लिइएको उनले बताए । एम्बुलेन्सका चालक प्रहरीलाई देख्नेबित्तिकै फरार भएको डीएसपी क्षेत्रीले बताए ।
नियन्त्रणमा लिएका उक्त सामानको बजार मूल्य २५ लाख २५ हजार १६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उक्त एम्बुलेन्स तथा सरसमान भन्सार कार्यालय जनकपुरधाममा पठाइएको धनुषा प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।
यता प्रहरी आरोपित तस्करले एम्बुलेन्स धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने बीरेन्द्र सिंह दनुवारको नाममा दर्ता रहेको छ ।
