जनकपुर, कार्तिक ५

महोत्तरीका ’भेट्रान’ नेता शरतसिंह भण्डारी नवौंपटक संसदीय चुनावको मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उनी महोत्तरी–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनी लोसपाका नेता पनि हुन् ।

उनले हालसम्म ८ पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेर ६ पटक जितेका छन् । दुईपटक मात्र हरेका भण्डारी सम्भवतः मधेशका पहिलो नेता हुन् जसले नवौंपटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।

२०३८ साल, २०४२ साल, २०५१ साल, २०५६ साल, २०६४ साल, २०७४ सालको संसदीय निर्वाचनमा उनले चुनाव जितेका थिए भने २०४८ साल र २०७० सालमा हारेका थिए ।

उनीसँगै सत्ता प्रदेशसभामा सत्ता गठबन्धनबाट महोत्तरी–२(१)मा जयनुल राइन र महोत्तरी–२ (२)मा कांग्रेसका नागेश्वर यादव उम्मेदवार छन् । प्रतिपक्षी गठबन्धन नेकपा एमालेबाट महोत्तरी– २ मा डा. रामपरीक्षण यादव उम्मेदवार छन् ।
उनी राजनीतिमा नवप्रवेशी हुन् । यसअघि उनी सरकारी जागिरमा चिकित्सा पेशामा कार्यरत थिए । साविकको जनकपुर अञ्चल अस्पतालमा उनी मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिसकेका छन् ।

भण्डारीलाई यादवले चुनौती दिनुका साथै साविकमा राजपा तथा लोसपामा काम गरिसकेका डा. विजय सिंह पनि चुनावी मैदानमा छन् ।

उनी तराई मधेश लोकतान्त्रिक पार्टीबाट सोही क्षेत्रमा प्रतिनिधिसभामा उम्मेदवार छन् । साविकमा सरकारी चिकित्सक रहेका उनी पनि दोस्रो मधेश आन्दोलनताका गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का संस्थापक नेता हुन् । पहिलो संविधानसभा चुनावमा उनी तमलोपाबाट समानुपातिक सांसद भएका थिए ।

पछिल्लो समय जसपा हुँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्न पुगेर जसपाबाट लोसपा विभाजन भएपछि असन्तुष्ट हुँदै लोसपाका नेता वृषेशचन्द्र लालले पुनः साविकको तमलोपा दर्ता गरेका थिए । सोही पार्टीबाट अहिले उनी महोत्तरी–२ मा उम्मेदवार छन् । उनले पनि भण्डारीकै मत काट्ने आकलन गरिएको छ ।

अर्कोतर्फ प्रदेशसभामा साविकको लोसपाका नेताहरू बागी भएर उठ्दा पनि चुनौती थपिएको छ । गत चुनावमा उनीसँगै राजपाबाट प्रदेशसभामा निर्वचित भएकी सांसद सुरिता साहले बागी उम्मेदवारी दिएकी छन् । त्यसैगरी लोसपाबाट सोही क्षेत्रबाट प्रदेशसभामा समानुपातिक सांसद भएका जानकीशरण साह प्रदेशसभामा बागी उम्मेदवार बनेका छन् ।

त्यसबाहेक सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभामा निवर्तमान सांसद मञ्जु यादव पनि उम्मेदवार बनेकी छन् ।

अर्कोतर्फ नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा टिकट पाउने दौडमा रहेकी किरण यादवले टिकट नपाउँदा उनी पनि असन्तुष्ट देखिएकी छन् । २०७४ सालको निर्वाचनमा भण्डारीको प्रतिष्पर्धा किरण यादवसँगै भएको थियो । उनले खुलेर सहयोग नगर्दा भण्डारीलाई थप चुनौती हुनसक्ने कांग्रेसका एक नेताले बताए ।

’पार्टीको कारवाहीको डरले देखिने गरी नै त उहाँले विरोध गर्नुहुन्न होला, तर अन्तर्घात भने गराउन सक्ने सम्भावना यथावत छ,’ ती नेताले भने, ’भण्डारीजीले किरण यादवलाई जसरी पनि विश्वासमा लिनैपर्ने हुन्छ ।’

लोसपाका नेता ज्ञानेन्द्र झा ज्ञानु भने जतिसुकै चुनौती देखिए पनि भण्डारीलाई अप्ठ्यारो नहुने बताउँछन् ।

जिल्लाकै चार क्षेत्रबाट चुनाव लड्नुप¥यो भन्ने जनताको माग र सिफारिस हुनुले पनि उहाँ महोत्तरी– २ मा मात्र नभएर जिल्लामै कति लोकप्रिय हुनुहुन्छ भन्ने कुरा पुष्टि हुन्छ,’ उनले लोकान्तरसँग भने, ’एक त उहाँको आफ्नै विराट व्यक्तित्व र भोट बैंकमा ठूलो पकड छ । त्यसमा पनि गठबन्धनका घटक कांग्रेससहित अन्य दलको समेत मत पाउने भएपछि उहाँलाई सहज नै छ । एक किसिमले भन्ने हो भने उहाँको जीत सेक्योर नै छ ।’ घटक दलभित्रका असन्तुष्टि व्यवस्थापन हुने उनी बताउँछन् ।