जनकपुर, कार्तिक ६

हिन्दु धर्माबलम्बीहरु यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा हनुमान जयन्तीको पनि रौनकता देखिएको छ । हनुमान जयन्ती साधु सन्त तथा भगवान हनुमानको पूजा तथा अराधना गरी हनुमान जयन्ती मनाएका छन् ।

हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन किर्तन लगायतको कार्यक्रमको आयोजना गरेको छ । यस अघि परिषदले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको थियो ।

परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकोले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १२ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आई रहेका छन ।

यता जनकपुरधामस्थित संकटमोचन मन्दिरमा समेत श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइचो लागेको थियो ।

भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिसाचको दुःख नहुने जनविश्वास रहेको छ ।

हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने विश्वास रहँदै आएको छ । त्यसैले मंगलबार र शनिबार हनुमान व्रत गर्नेहरुको संख्या पनि धेरै रहेको छ ।

चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रुपमा व्याख्या गरिएपनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीलाई हनुमान जयन्तीकै रुपमा लिइने गरिन्छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।