जनकपुर, कार्तिक ७
मधेशमा महोत्तरी– ३ अहिले चर्चामा छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर फेरि पनि उम्मेदवार बनेका कारण महोत्तरी– ३ चर्चाको केन्द्रमा रहेको हो ।
२०७४ सालमा फराकिलो मतान्तरले चुनाव जितेका ठाकुर ’हेभीवेट’ उम्मेदवार हुन् । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनमा योगदान दिएसँगै मधेश आन्दोलनका कमाण्डर नै रहेका नेता ठाकुरलाई यसपटक पाइल पाइलामा जोखिम देखिएको छ ।
कुनै बेला राष्ट्रपति त कुनै बेला प्रधानमन्त्री नै हुनसक्ने चान्स पाएर पनि अवसर गुमाउन पुगेका ठाकुर नेपालको राजनीतिका चर्चित अनुहार हुन् ।
मधेशकेन्द्रित राजनीतिक दल गठन गरेर मधेश आन्दोलनको अगुवाई गर्न आउनुअघि उनले कांग्रेस परित्याग नगरेको भए संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नै पनि हुन सक्ने सम्भावना थियो ।
तर, मधेश आन्दोलनको शुरुआत भइसकेपछि आन्दोलनलाई थप सशक्त बनाउन कांग्रेस परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेर मधेश आन्दोलनको नेतृत्व गर्न मधेश झरेका उनको राजनीतिक अवस्था अपेक्षा गरिएजस्तो सफल भने हुन सकेन । पहिलो संविधानसभाको चुनावमै सर्लाही– ४ मा आफैं पराजय भोग्नुप¥यो ।
नेपाली कांग्रेसमा आबद्ध हुँदा आफ्नो सम्पत्ति, घरघडेरी नै सर्लाही कांग्रेसलाई दिएका ठाकुरले त्यही भूमिमा पराजय भोग्नुपर्ला भन्ने कसैले अनुमान समेत गरेका थिएनन् ।
आफ्नो जन्मभूमि महोत्तरी तथा कर्मभूमि जनकपुर छाडेर सर्लाही पुगेका उनले संविधानसभाको दोस्रो निर्वाचनमा पनि सर्लाहीबाट हार बेहोरे ।
बाध्य भएर सुरक्षित स्थानको खोजीमा २०७४ सालमा उनी आफ्नै जन्मभूमि महोत्तरी– ३ मा चुनाव लड्न पुगे ।
साविक राजपा र साविक संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनका कारण उनले सहजै चुनाव जित्न सफल भए । यसपटक फेरि पनि उनले सोही क्षेत्रबाट उम्मेदवारी दिएसँगै धेरैजसोको ध्यान त्यही क्षेत्रको गतिविधिले तानेको छ ।
हुन त सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् उनी । तर, सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहित कुल ४ दल आबद्ध भएपनि उक्त क्षेत्रमा अन्य दलका कोही पनि उम्मेदवार छैनन् । ठाकुरले प्रदेशसभामा पनि आफ्नै पार्टीका निवर्तमान प्रदेश सांसदद्वय अभिराम ठाकुर र रानी शर्मा तिवारीलाई टिकट दिएका छन् ।
उक्त क्षेत्रमा राम्रो जनाधार भएको कांग्रेसबाट कोही पनि उम्मेदवार नहुँदा कांग्रेसका नेता तथा कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन् ।
२०७४ सालको चुनावमा कांग्रेससँग गठबन्धन नहुँदा पनि सभापति शेरबहादुर देउवाको निर्देशनमा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बजरंग नेपाली तिवारीले उम्मेदवारी फिर्ता लिनुपरेको थियो ।
यसपटक पनि उनी प्रदेश सभामा उम्मेदवार हुन खोजेका थिए । एक महिनासम्म काठमाडौं आएर नेताहरूलाई भेटेका थिए । तर पनि उनले टिकट पाउन सकेनन् । त्यसैगरी कांग्रेसबाट अर्का आकांक्षी गरीब दासले पनि टिकट पाएनन् । त्यस क्षेत्रमा कांग्रेसमा प्रभाव राख्ने अर्का नेता शम्भुनारायण पाठक पनि ठाकुरबाट असन्तुष्ट नै देखिएका छन् ।
उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाको मेयरमा पराजित भएका हुन् ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरू आफूभन्दा पनि कांग्रेसको नेतृत्वसँग बढी असन्तुष्ट रहेको ठाकुर बताउँछन् ।
उहाँहरू मसँग असन्तुष्ट हुनुहुन्न, आफ्नो पार्टीको केन्द्रीय नेतासँग असन्तुष्ट हो,’ ठाकुरले भने, ’गठबन्धनको उम्मेदवार भएको नाताले पनि उहाँहरूले मलाई नै मतदान गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’
गत चुनावको तुलनामा यसपटक त्यति सहज भने नभएको उनी आफैं स्वीकार्छन् । ’त्यो पहिलो चुनाव थियो, अहिले दोस्रोपटक जाँदा अलि असहज हुनु त स्वाभाविक हो,’ उनले थपे, ’जनतासँग अहिले दिनहुँ भेटिरहेको छु, उहाँहरूको गुनासो सुनिरहेको छु, ती सबै समाधान हुन्छन् ।’ त्यहाँ कांग्रेसमा सबैभन्दा बढी प्रभाव राख्ने नेतामध्येका एक हुन्, रामचन्द्र तिवारी । पूर्व सांसद समेत रहेका तिवारी कांग्रेसबाट प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार छन् ।
’तिवारीजी हिजोसम्म काठमाडौं हुनुहुन्थ्यो, उहाँसँग राति मात्रै भेटेको छु, पूर्णसहयोग र समर्थन रहनेछ भनेर उहाँले भन्नुभएको छ,’ ठाकुरले भने, ’त्यसबाहेक कांग्रेसका नेताहरूलाई पनि मैले भेटिरहेको छु । पिपराकै राधारमणजीलाई भेटेको छु । उहाँहरूको पनि सहयोग र समर्थन रहने प्रतिबद्धता जनाइरहनुभएको छ ।’
धेरैजसो कार्यक्रमहरू नेपाली कांग्रेसकै कार्यालयमा भइरहेको र ती सबै कार्यक्रमहरूमा कांग्रेसका कार्यकर्ताहरू आइरहेको उनले बताए । तर, कांग्रेसका एक नेताले पार्टीको मत विभाजित हुनसक्ने बताउँछन् ।
’कांग्रेसको मत यसपटक विभाजित हुन्छ । ठाकुरसहित तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार वृषेशचन्द्र लाल, जसपा उम्मेदवार हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामआधार कापरमा मत बाँडिन्छ जस्तो लाग्छ,’ ती नेताले लोकान्तरसँग भने, ’न माथि न तल कहीँ पनि कांग्रेसको उम्मेदवार नभएपछि कांग्रेसका कार्यकर्ताहरूले कुनै एक मात्र उम्मेदवारलाई एकछाहा (एउटै चिह्नमा) मत हाल्ने अवस्था भने छैन ।’
त्यस क्षेत्रको प्रभावशाली बहुसंख्यक भूमिहार जातिमा कांग्रेसको पकड भएकाले कांग्रेसको मत निर्णायक हुने अनुमान गरिएको छ ।
ठाकुरले त्यसैलाई आधार मानेर प्रदेशसभामा आफ्नै पार्टीका भूमिहार जातिका दुवै उम्मेदवार उठाए पनि भूमिहार जातिका अन्य नेता तथा कार्यकर्ताहरू सन्तुष्ट देखिएका छैनन् । ’अहिलेसम्म ठाकुरजीबाट कांग्रेसलाई सन्तुष्ट पार्ने कुनै ठोस पहल नै भएको देखिएको छैन,’ कांग्रेसका अर्का एक कार्यकर्ताले भने, ’उहाँलाई अहिले पनि के लागेको छ भने पैसा परिचालन गरेर सबै ठीक हुन्छ । तर, यसपटक त्यस्तो छैन ।’
