जनकपुर, कार्तिक ८

कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् आज तिहारको चौथो दिन । गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परागतरुपमा चल्दै आएको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भन्ने गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने लोकविश्वास रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाई दान गर्ने विधिसहितको परम्परा रहेको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिनेलगायतका धार्मिक विश्वाससमेत रहेको छ ।