जनकपुर, कार्तिक ११
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट पोलिटब्युरो सदस्य रामकुमार शर्मा नयाँ यात्राको खोजीमा छन् । उनी नेकपा एमाले र जनता समाजवादी पार्टीमध्ये एकमा जाने गरी वार्तामा छन् । महोत्तरी क्षेत्र नम्बर ३ को प्रदेश सभा ’ख’ मा माओवादीले दिएको टिकट पनि खोसेपछि उनी प्रचण्डसँग रुष्ट बनेर पार्टी नै छाड्ने निर्णयमा पुगिसकेका छन् ।
माओवादी अहिले ‘मिसन पोलिटिक्स’ मा नरहेकाले जुन पार्टीमा ठूलो पद मिल्छ, उतै जाने निष्कर्षमा आफू पुगेको उनले बताए । ‘मिसन पोलिटिक्स गर्ने यहाँ कुनै पनि पार्टी छैनन् । एउटा समय हामी माओवादीहरु सिद्धान्त, विचार, आदर्श र मूल्यमान्यताको लागि राजनीति गर्थ्यौँ । अब त्यो अवस्था रहेन,’ शर्माले भने, ‘प्रचण्डले मलाई धोका दिएपछि अब माओवादीमै रहनुपर्ने बाध्यता छैन । म एमाले र जसपा नेतृत्वसँग समानान्तर छलफलमा छु । जता मेरो योग्यता र क्षमताअनुसारको पद मिल्छ, उतै लाग्ने निष्कर्षमा पुगेको छु ।’
कांग्रेस, एमाले र मधेशवादी दलभन्दा माओवादी अब कुनै पनि अर्थमा भिन्न नरहेको शर्माले बताए । ‘यो अवस्थमा अब माओवादीमै बसिरहनु जरुरी छैन,’ शर्माले भने, ‘कांग्रेस, एमाले, मधेशवादी दल र माओवादीमा कुनै फरक छैन । माओवादीसहित सबै पार्टीले राजनीतिलाई व्यवसाय बनाएका छन्। पोलिटिक्स कमर्शियल बन्यो । म मात्रै किन इमानदार बन्नु ?’ अब प्रचण्डसँग उधारोमा सहमति गरेर माओवादीमा नबस्ने उनले बताए ।
‘अब नगदमा मात्रै प्रचण्डसँग सहमति हुन्छ । उहाँसँगको छलफलमा पनि मैले यो कुरा प्रष्ट रुपमा राखेको छु’, उनले भने, ’अब पार्टीको स्थायी समिति र मधेस प्रदेशमा पार्टी प्रमुखको जिम्मेवारी पाए मात्रै माओवादीमा रहन्छु, नत्र रहन्नँ ।’
उनले प्रचण्ड, केपी ओली र उपेन्द्र यादवसँग आफूले समानान्तर रुपमा पदको ‘बार्गेनिङ’ गरिरहेको खुलाएका छन् । माओवादीप्रति वितृष्ण बढेपछि आफूले एमाले अध्यक्ष ओली, उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र नेता विष्णु रिमालसँग एमालेमा प्रवेश गर्दा प्राप्त हुने पदबारे छलफल गरेको उनले सुनाए ।
‘उहाँहरुसँग लामै कुरा भएको छ । केही दिनअघि भण्डै अढाई घण्टै कुरा भयो,’ शर्माले भने, ‘एमालेले मलाई स्थायी समिति सदस्य बनाएर मधेशको नेतृत्व दियो भने त्यता लाग्न सक्छु ।’
उनले प्रचण्ड र ओलीको टिमसँग भन्दा उपेन्द्र यादवसँग आफ्नो सकारात्मक ढंगले कुरा भइरहेको बताए । ‘प्रचण्ड र ओलीजीको भन्दा उपेन्द्रजीका कुरा निकै सकारात्मक छन्,’ शर्माले उक्त प्रसंग कोट्याउँदै भने, ‘उहाँले पहिला पनि म अध्यक्ष र तपाईं महासचिव भएर मधेशी जनअधिकार फोरममा काम गरेको हो । फेरि पनि जसपामा त्यसरी सहकार्य गर्न सकिन्छ । म तपाईंलाई पार्टीमा मपछिको दोस्रा वरीयतामा राख्छु भन्नु भएको छ ।’
