जनकपुर, कार्तिक ११
देशैभरी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ ५ दलिय गठबन्धन र एमाले जसपा गठबन्धन बिच नै प्रतिस्पर्धा हुने सम्भावना छ । मधेस प्रदेशमा पनि यिनै दुई गठबन्धनबिच प्रतिस्पर्धा हुने निश्चित छ । सबै दल चुनावी प्रचार प्रसारमा व्यस्त रहेको समयमा सत्तारुढ गठबन्धनमा आवद्ध दलबाट भावी मुख्यमन्त्रीको विषयमा चर्चा चुलिएको छ ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा एमाले जसपा गठबन्धनमा जसपाबाट भावी मुख्यमन्त्रीका लागि दावेदारी अहिलेदेखि नै शुरु गरि सकेका छन् । प्रदेशमा जसपाको नेतृत्वमा अहिले सरकार छ ।
जसपाबाट मुख्यमन्त्री लालबाबु राउतको नामा स्वभाविक रुपमा दावेदारको रुपमा प्रस्तुत भईरहेको छ । मुख्यमन्त्री राउत फेरी पर्सा निर्वाचन क्षेत्र नम्बर १‘ख’ बाट उम्मेदवारी दिएका छन् । यसै निर्वाचन क्षेत्रबाट २०७४ सालमा तत्कालिन संघिय समाजवादी पार्टीबाट निर्वाचित भएका राउतलाई मुख्यमन्त्री बनाइएको थियो । जसपामा आवद्ध नेता कार्यकर्ताहरुले मुख्यमन्त्री राउतलाई नै आगामी मुख्यमन्त्रीको रुपमा प्रचार ष्र्दै आईरहेका छन् । उनलाई पार्टीले फेरी प्रदेशमै उम्मेदवार बनाएकाले जसपाबाट फेरी राउत नै मुख्यमन्त्रीको दावेदार रह्ने प्रबल सम्भावना छ ।
तर फेरी सो क्षेत्रबाट मुख्यमन्त्री राउतलाई जित निकाल्न सहज देखिदैन । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण, मुख्यमन्त्री स्वच्छता अभियानमा अनियमितताका साथै कार्यकाल संतोषजनक नरहेको प्रतिक्रियाका बिच उम्म्ेदवारी दर्ता राउतका लागि जीत निकाल्ने दवाब छ । उनीसंगै सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामनारायण कुर्मी उम्मेदवारी दर्ता गराएका छन् ।
यद्यपि जसपाबाटै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव र अर्थमन्त्री शैलेन्द्र साहले समेत आफूलाई मुख्यमन्त्री पदको दावेदारको रुपमा प्रस्तुत गर्दै आईरहेका छन् । मधेस सरकारको गत ५ वर्षको कार्यकालमा जति पटक सरकारको नेतृत्व परिवर्तनका लागि जसपा भित्र दवाब बढ्यो त्यती पटक मन्त्री विजय यादवले आफूलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहे । यद्यपि पार्टी भित्रको आन्तरिक किचलोलाई अध्यक्ष उपेन्द्र यादवले हरेक पटक साम्य पार्न सफल भए । त्यस्तै जसपा अध्यक्ष यादवको विश्वास पात्रका रुपमा रहेका अर्थमन्त्री साहलाई पनि कतिपयले भावी मुख्यमन्त्रीको रुपमा देखि रहेका छन् ।
यता सत्ता गठबन्धनमा आवद्ध भएर चुनाव लडिरहेको लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पनि आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् । लोसपा सत्तारुढ गठबन्धनमा शामिल रहेकाले सोनल पनि मुख्यमन्त्री बन्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । सोनल मधेस प्रदेसमा तत्कालिन संघीय समाजवादी पार्टी र राजपा नेपालबिचको गठबन्धनबाट २०७४ सालको निर्वाचनमा निर्वाचित भएका सोनल दोश्रो वरियतामा रहने गरी मधेस सरकारको भौतिक पुर्वाधार मन्त्री बनेका थिए । पछि संघिय समाजवादी पार्टी र राजपा मिलेर बनेको जसपा विभाजित भएपछि मुख्यमन्त्री राउतले तत्कालिन राजपा खेमाबाट बनेका मन्त्रीहरुलाई सरकारबाट हटाएका थिए ।
हुनत सोनलको मन्त्री कार्यकालपनि विवादरहित रह्न सकेन । उनको कार्यकालमा समेत भौतिक पूर्वाधार मन्त्रालयबाट संचालित विभिन्न योजनामा अनियमितता भएको भन्दै उजुरी परेका छन । सोनल बारा ४‘ख’बाट उम्मेदवारी दिएका छन् । उनलाई त्यहाँ जसपाका आत्माराम प्रसाद साहले टक्कर दिन लागेका हुन् ।
जसपा नेपालबाट उम्मेदवार रहेका निर्वतमान सभामुख सरोजकुमार यादव समेत आफूलाई मुख्यमन्त्रीको दावेदारको रुपमा प्रस्तुत गरिरहेका छन् । उनले प्रदेशसभाको ५ वर्षको प्रगति विवरण सार्वजनिक गरेकै दिन आफूलाई मुख्यमन्त्रीको रुपमा दावेदारी प्रस्तुत गरेका थिए । निवर्तमान यादव बारा १‘ख’बाट उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका नागेन्द्रप्रसाद कानु संग रहेको छ ।
सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसबाट समेत मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दुई जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसबाट मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री रहि सकेका रामसरोज यादव र कांग्रेसका मधेस प्रदेश अध्यक्ष कृष्णा यादव मुख्यमन्त्री पदका आकांक्षी हुन् । राम सरोज धनुषा ३ ‘क’बाट उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्र्वाचनमा पनि उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनलाई सो निर्वाचन क्षेत्रमा रामसरोजलाई चुनौती दिनका लागि मुख्यमन्त्रीको निजि सचिव रहेका जितेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् । जितेन्द्र नेकपा एमाले र जसपा गठबन्धनबाट उम्मेदवार रहेका छन ।
त्यस्तै कांग्रेसका प्रदेश अध्यक्ष कृष्ण रौतहट १‘ख’ बाट उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र रौतहट १बाट उम्मेदवारी दिएका यादवलाई लोसपा नेता अनिल झाले पराजित गरेका थिए ।
जसपा, लोसपा र नेपाली कांग्रेसका नेताहरुले मुख्यमन्त्री पदका लागि ईच्छा व्यक्त गरिरहँदा कुनै पनि दल वा गठबन्धनले मुख्यमन्त्रीको चेहरा को हुने भन्ने निर्णय गरेको छैन ।
