जनकपुर, कार्तिक ११
सत्तारुढ पाँच दलीय गठबन्धनबाट धनुषा– ३(ख) बाट प्रदेशसभामा उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता परमेश्वर साहले घरदैलो कार्यक्रमको क्रममा उनले पाँच दलीय गठबन्धन लोकतान्त्रिक शक्तिको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ मा पुगेका साहले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।
संविधान संशोधन, मधेशी जनताले पाउन नसकेका अधिकारको प्रत्याभूति गराउनका लागि लोकतान्त्रिक सरकार बनाउनु आवश्यक रहेको साहले बताए । उनले लोकतान्त्रिक सरकार निर्माणका लागि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।
यसका साथै मधेश र देशकै लागि ठूलो समस्याको रुपमा रहेको नागरिकताको समस्या समाधानका लागि यो गठबन्धनले पहल गर्ने उनको दावी थियो । नागरिकता विधेयकको बिरोधमा लागेको दललाई मतदाताले पक्कै पनि मत नदिने विश्वास व्यक्त गरे ।
उम्मेदवार साहले प्रदेशको नामाकरण गर्यौँ, राजधानी बनायौँ तर संघियता अनुरुप काम अगाडी बढ्न नसकेकाले त्यसका लागि थुप्रै काम गर्नुपर्ने भएकाले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।
जनकपुरधामलाई राजधानीको स्वरुपमा ल्याउन र संघियता अनुरुप काम अगाडी बढाउन बाँकी कामहरु आफूहरुले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । हाम्रो गठबन्धनको सरकार बनयो भने यहाँका जनताका समस्या समाधान गर्नुका साथै विकास निर्माणका कामहरुलाई समेत गति प्रदान गर्ने स्पष्ट पारे ।
