जनकपुर, कार्तिक १३
छठ पर्वमा रातभरी पोखरीको डीलमा जाग्राम बस्ने परम्परा रहेको छ । छठ पर्वकै लागि पोखरी नै पोखरीको शहरको रुपमा विख्यात जनकपुरधामका पोखरीहरुलाई श्रृंगारिएको छ । तर जहाँ ःएकातर्फ छठ पर्वका लागि पोखरीहरुलाई सरसफाई गरी श्रृंगारिएको छ भने अर्को तर्फ कयौँ ऐतिहासिक एवं पौराणिक पोखरीहरु आफ्नो अस्तित्व खोजिरहेको छ । ती पोखरीहरुलाई छठ पर्वको अवसरमा श्रृंगारिनु पथ्र्यो तर ती पोखरीहरुको सरसफाई तथा श्रृंगारको कुरै छोडौँ अहिले ती पोखरीहरु सुनसान र अतिक्रमणको चपेटमा छन् । अतिक्रणमा परेका ती पोखरीहरुको आ–आफ्नै ऐतिहासिकता र महत्व छन् ।
जनकपुरधामका तेलहा, मड़हा, पापमोचनी पोखरी, देवान पोखरी, रामसागर तलाउ, पगपखचालन पोखरी लगायतका धार्मिक एवं पौराणिक पोखरीहरुलाई छठ पर्वको रौनकताले छोएको छैन । बरु ती पोखरीहरु भूमाफियाहरुका कारण अतिक्रमणको चपेटमा पर्दै गईरहेको छ ।
जनकपुर नेपालमै सबैभन्दा बढी पोखरीहरु भएको शहर हो । विगतमा यहाँ २ सय ८ पोखरी थिए । एक एक गर्दै १ सय ५६ पोखरी हराएर गएको छ । अहिले ५२ वटा मात्र अस्तित्वमा छन् । ती पोखरी भएका ठाउँमा कतै सरकारी कार्यालय बनेका छन । केहीमा घर ठड्याइएको छ । कसैले होटेल तथा पसल चलाउँदै आई रहेका छन् । जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर, बल्देव सर, धोवियाही पोखरी लगायतका कयौ पोखरीहरुको अस्तित्व मेटी सकिएको छ । यसका अतिरिक्त जनकपुरधाममा कुन कुन पोखरीहरु थिए त्यसको तथ्यांक भने गुठी संस्थान जनकपुरधामसंग रहेको छैन । कुन ताल कहाँ थिए प्रश्न गर्दा गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी संस्थानमा त्यसको तथ्यांक नै नरहेका कारण जवाब दिन सकेनन् ।

बाँकी रहेका अधिकांश पोखरीका जमिन पनि सन्त–महन्थ र गुठी संस्थानका प्रमुख मिलेर बिक्री गरेका छन । केही लोप भइसके, बाँकी रहेका पोखरी पनि केही समयमा हराउने खतरा रहेको छ । राजनीतिक संरक्षणमा पोखरीको जग्गा अतिक्रमण भइरहेको छ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३का विरेन्द्र कर्ण गुनासो गर्छन । उनले जनकपुरका पोखरीहरुलाई निजि आम्दानीको श्रोत यहाँका नेता, कर्मचारी तथा सन्त महन्थले बनाएको आरोप लगाए । २०६७ सालको गुठी संस्थानको तथ्यांक अनुसार ५२ वटा पोखरीहरु अस्तित्वमा रहेका छन् ।
पोखरीको जग्गा अतिक्रमण गर्नमा नेता, मन्त्री, सांसद, हाकिम, नापी, माललोत, सन्त–महन्त र भूमाफिया सबैको संलग्नता छ । तर, मेलेमतोकाकारण कोही कसैसँग बोल्न सक्ने अवस्थामा छैनन । ऐतिहासिक धार्मिक महत्व बोकेका जनकपुरधामका पोखरी पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने स्थानिय, प्रदेश र केन्द्र तीनै सरकारको बुझाई छ । तर, सरकार, स्थानिय नागरिक कसैले पनिचासो नदिदा पोरखीको शहर जनकपुरधाम पोखरी विहीन बन्ने बाटोमा छ ।
छठले नछोएका ऐतिहासिक पोखरीहरु
राम मन्दिरको छेउमै रामसागर पोखरी छ । सो पोखरीकै डीलमा राम युवा कमिटीको कार्यालय पनि छ । तर छठ पर्व नजिकिएपनि त्यो पोखरी दुर्गन्धित छ । राम मन्दिर भन्दा दक्षिणमा अवस्थित राम सागरमा दर्जनो स्थानीय व्यक्तिले आफनो घरको नाला जोडेका छन । कतिले शौचालयको हजकै रुपमा त्यो पोखरीलाई प्रयोग गर्दै आईरहेका छन् ।
कुनै समयमा सोही पोखरीको पानीले भगवान रामको भोगका लागि भोजन बनाइन्थ्यो । बाहिरबाट आउने श्रद्धालुहरु सो पोखरीको पानी पवित्र मानी घर लाने गर्थे । तर अहिले राम सागरनै डम्पिङ्गसाइटमा परिणत भएको छ । राम मन्दिरका महन्थ राम गिरिले राम सागर पोखरी फोहोर भएपछि मन्दिरको भोगराज धनुष सागर पोखरीबाट गर्नुु पर्ने बाध्यता रहेको बताए ।

जनकपुरधामको रंगभूमि मैदान नजिकै अर्को पापमोचनी सर ऐतिहासिक पोखरी छ । यो पोखरीको त्रेतायुगसंग ईतिहास जोडिएको छ । भनिन्छ भगवान शंकरलाई ब्रह्म हत्याको पाप लाग्दा यही पोखरीमा स्नान गरेपछि मेटिएको थियो । तर यति ठूलो ईतिहास बोकेको यो पोखरी अतिक्रमणमा पर्दै गईरहेको छ । सो पोखरीलाई प्रदेश सरकारले सौन्दर्यीकरणको नाउँमा अतिक्रमण गरेको पाइएको । एक निर्माणाधिन होटेलको भवनसम्म बाटो बनाउनका लागि प्रदेश सरकारले सोही पोखरीलाई पुरेर बाटो बनाई दिएको छ । तर छठपर्वको पूर्व सन्ध्यामा समेत सो पोखरीको सोधखोज लिने कोही छैन ।
त्यस्तै ऐतिहासिक देवान पोखरी राजनीतिक चपेटका कारणले अढाई दशक पूर्व देखि हुदैँ आएको छठ पर्व हुन छोडेको छ । लुतो रोग, चर्म रोग र निःसन्तान हुने महिलाहरुले भाकल गरी देवान पोखरीमा स्नान गरेमा निको हुने र सन्तान हुने विश्वास रहँदै आएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १०का संतोष कर्ण बताउँछन् । यस पोखरीमा भारत तथा यस भेगका श्रद्धालुहरुले विभिन्न भाकल गरी स्नान गर्न आउने गर्थे जनकपुर उपमहानगरपालिका वडा नम्बर ३ का दिपक साह बताउँछन् ।
यता जनकपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहका अनुसार जनकपुर बृहत्तर क्षेत्र विकास गत आर्थिक वर्षमा देवान पोखरीको सौन्दर्यीकरणका लागि १८ लाख रुपैया उपभोक्ता समितिलाई दिएपनि समयमा काम सम्पन्न नगर्दा बजेट नै फ्रिज भएको थियो ।
सो पोखरीलाई कसैले वास्ता नगर्दा फोहर फाल्ने तथा मुत्र विसर्जन स्थलको रुपमा परिणत भई लुप्त हुने कगारमा छ ।
लुतो रोग, चर्म रोग र निःसन्तान हुने महिलाहरुले भाकल गरी देवान पोखरीमा स्नान गरेमा निको हुने र सन्तान हुने लोकविश्वास छ ।
जानकी मन्दिरको उत्तर तर्फ रहेको तेलहा र मडहा पोखरीलाई सौन्दर्यीकरणको नाममा पोखरीलाई सांघुरो बनाउन खोज्दा समाजिक स्तरबाटै बिरोध भयो । त्यसपछि वर्षोदेखि ती पोखरीहरुको सौन्दर्यीकरणको काम अहिलेसम्म पुनः सुचारु हुन सकेको छैन । स्थानीय यूवा अभियन्ता सुशिल कर्ण लगायतका युवाहरुले पोखरीको वास्तविक नाप नक्सा अनुसार उत्खनन गरी निर्माण गर्नुपर्ने भन्दै अवरोध जनाएपछि त्यो पोखरीको सौन्दर्यीकरणको काम स्थगित भयो ।
