जनकपुर, कार्तिक १३
मिथिलाञ्चलमा दिपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएलगत्तै आस्थाको महापर्व छठको रौनकताले छोएको छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वहरुमध्ये छठ पनि एक हो । छठ पर्वको तयारी पनि ५÷७ दिन पहिलेदेखि नै सुरु हुने गर्छ । कार्तिक शुक्ल चतुर्थीेको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रह्दै आएको मानिन्छ । गरिब, धनी, ब्राह्मण, दलितको खयाल नगरि यो पर्व एकै साथ मिलेर मनाईन्छ । जसले समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन् ।
छठ पर्वको विधि
यस पर्वमा सप्तमी युक्त षष्ठी तिथिमा व्रत गर्ने परम्परा छ । सूर्य देवतालाई पहिलो दिनको अर्घ उक्त दिन नै अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ दिईने गरिन्छ जुन दिन उदयकालमा केही बेरका लागि भएपनि षष्ठी तिथि परेको होस् ठिक त्यसै अनुरुप उदयकालमा दिईने अर्घका लागि समेत त्यही विधि अपनाईन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ’ दिईन्छ ।
छठ पूजामा जुन सामाग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा दिईने परम्परा रहेको छ । हुनत सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरु साँझदेखि बिहानसम्म जलाशयमा बनाईएको घाटमा नै राखिन्छ तर केही स्थानमा जस्तै कि नदीहरुमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसादहरु घर लगिन्छ र बिहान सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याईन्छ छठ पर्व मनाईन्छ व्रती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की शिलादेवी साह बताउँछिन् ।
छठ व्रत गर्नेहरु चौठी तिथिका दिन नुहाई धुवाई गरी चोखो भई अर्वाअर्वाइन खाने गर्दछन् यही तिथिका दिनदेखि छठ पर्व औपचारिक रुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाई धुवाई गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् ।
कार्तिक शुक्ल पञ्चमी तिथिका दिन दिनभरी पर्व गर्नेहरु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाईएको नयाँ चूल्होमा नयाँ माटोको भाडाँमा अरबा चामलको खीर बनाउने गर्दछन् । सख्खर राखेर बनाईएको खीर देवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र उक्त प्रसाद स्वरुप खीर व्रतीका साथै घरका अन्य सदस्यहरुले ग्रहण गर्दछन् । जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ ।
कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिलाहरु डुब्दै गरेको सूर्यलाई अर्घ दिने गर्दछिन् भने जुन पुरुषले व्रत गर्ने गर्दछन् सूर्य देवतालाई अर्घ अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा सूर्य देवतालाई हाथमा नरिवल वा अन्य कुनै फलफुल लिई उभिरहेका हुन्छन् । साँझको समयमा घण्टौसम्म जलमा रही नाङलो, कनसुप्ती, ढकना, सरबा लगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ चढाउने गर्दछिन् । उक्त दिन छठ व्रत गर्नेहरुको घरका सबै सदस्यहरु प्रायः रातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । छठको प्रसादहरुमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप, अरतक पात, चना आदि हुन्छ । पर्वको दिन व्रतगर्नेहरुलाई यस मन्त्रबाट संकल्प लिनु आवश्यक हुन्छ ।
नमेऽद्य कार्तिक मासीय शुक्ल पक्षे षष्ठम्यां तिथौ (आ–आफ्नो गोत्रको नाम लिएर)
जन्म जन्मान्तरार्जित ज्ञाताज्ञात कायिक वाचिक मानसिक
सकल पाप कामावाप्ति काम अद्य प्रातश्च सूूर्यायार्घमहंदास्ये ।
तत्पश्चात् अक्षत लिएर
नमो भगवन सूर्य इहागच्छ यहतिष्ठतः उच्चारण गरी पूजाको थालीमा अक्षत राखी जल लिएर एतानि पाद्यार्घाचमनीयस्नानीय पूूनराचमनीय नमो भगवते श्री सूर्यनारायणय नमः उच्चारण गरी जल चढाई फूलमा रातो चन्दनको लेप लगाई, रातो फूल, दुबो अक्षत र प्रसादका लागि तयार पारिएका परिकारहरुसहित जल लिएर सूर्यतिर हेर्दै नमोस्तु सुर्याय नमः उच्चारण गरी सम्पूर्ण डाला उत्सर्ग गर्दै कथा सुन्ने गरिन्छ ।
त्यसपछि व्रत गर्ने महिला पुरुषसहित घरका अन्य सबै सदस्यहरु घर फर्किन्छन् । र घरमा भोजन गर्ने गर्दछन् जसलाई मैथिलीमा पारण भनिन्छ । पारण भएपछि ४ दिवसीय छठ पर्वको समापन हुन्छ ।
षष्ठी देवी
कार्तिक शुक्ल षष्ठी तिथिका दिन अस्ताउँदै गरेको सूर्यका साथ साथै षष्ठी देवीको समेत पूजा गरिन्छ । धर्मग्रन्थहरुका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ । उनलाई सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता श्रृष्टीको सम्पूर्ण जीवको रक्षिका देवी छिन् । प्रकृतिको छैठौँ अंश भएका कारण उनको नाम समेत षष्ठी रहेको छ । षष्ठी देवीको पूजाको प्रचार प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतक कालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठि माता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ । हुनत केहीले सूर्यको माता भनेर समेत षष्ठी देवीको पूजा गर्छन् ।
छठको पौराणिक महत्व
लंका विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास गरेका थिए र सूर्यदेवको आराधना गरे । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरे । एक किसिमले छठ पर्वको आरम्भ यसैदिन देखि भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठुलो स्रोत सूर्यलाई मानिन्छ । त्यस कारण हिन्दू शास्त्रहरुमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । एक अर्को मान्यताका अनुसार छठ पर्व महाभारत कालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको शुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए । उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भए । महाभारतमा सूर्य पूजाको अर्को वर्णन समेत पाईन्छ । पाण्डव पत्नी द्रौपदी आफ्नो परिजनहरुको उत्तम स्वास्थ्यको कामना र दिर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गर्थिन् ।
छठ पर्वको कथा
कथाका अनुसार राजा प्रियवद निसन्तान थिए । त्यस समय महर्षि कश्यप पुत्रेष्टि यज्ञ गराएर उनको पत्नी मालिनीलाई यज्ञाहुतिका लागि बनाईएको खीर खानका लागि दिए । यसको प्रभावले उनलाई सन्तानको रुपमा छोरा प्राप्त भयो तर उक्त छोरा पनि मृत नै जन्मिए ।
प्रियवद पुत्रलाई लिएर श्मशान गए र पुत्र वियोगमा प्राण त्याग्न लागे । ठिक सोही समयमा मानस कन्या देवसेना प्रकट भईन् र भनिन् सृष्टिको मूल प्रवृत्तिको छैठौँ अंशबाट उत्पन्न भएका कारण मेरो नाम षष्ठी परेको छ । हे राजन् तपाई मेरो पूजा गर्नुस् तथा अन्य व्यक्तिलाई समेत यसका लागि प्रेरित गर्नुस् । राजा पुत्र इच्छाका कारण देवी षष्ठीको व्रत गरे र उनलाई पुनः पुत्र प्राप्ति भयो । उनले गरेको यो पूजा कार्तिक शुक्ल षष्ठी तिथिको दिन भएको थियो । यस प्रकार कार्तिक शुक्ल षष्ठी तिथिको दिन अर्थात् छठि मैयाको पूजा गर्ने परम्परा बन्यो ।
छठ पर्वको वैज्ञानिक महत्व
छठ पर्वको परम्परा वैज्ञानिक र ज्योतिषीय दृष्टीले समेत महत्पूर्ण रहेको पाईएको छ । षष्ठी तिथि एक विशेष खगोलीय अवसरको रुपमा रहेको छ जुन समयमा पृथ्वीको दक्षिणी गोलार्धमा सूर्य हुन्छ र दक्षिणायन सूर्यको अल्ट्राभोइलेट किरण पृथ्वीमा सामान्य भन्दा बढी मात्रामा एकत्रित हुन्छ । किनभने यस समयमा सूर्य आफ्नो तलको राशि तुलामा रहेको हुन्छ । जसकारण दूषित प्रकाशको सीधा प्रभाव जीवहरुको आँखा, पेट र छाला आदिमा पर्ने गर्दछ । सूर्यको प्रकाशलाई पराबैजनी प्रकाशबाट जीवहरुको हानी नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको रहस्य लुकेको तर्क गर्ने गरिन्छ ।
सामाजिक सांस्कृतिक महत्व
छठ पूजाको सबैभन्दा महत्वपूर्ण कुरा यसको पवित्रता र लोकपक्ष रहेको छ । भक्ति र अध्यात्मिक हिसाबले परिपूर्ण यस पर्वकालागि मन्दिर वा आडम्बरको आवश्यक्ता भने हुँदैन् । यो पर्वले समाजमा सबैको महत्व आ–आफ्नो स्थान उत्तिकै छ भन्ने कुराको आभाष समेत गराउँदछ । जसरी की माटोको सामाग्रीका लागि कुम्हाले, बाँसको सामाग्रीका लागि डोम समुदाय, पूजाअर्चनाका लागि ब्राह्मण पूरोहितीनी, सख्खर, चामलका लागि किसान र व्यापारी लगायत, पूजाका प्रसाद बनाउनका लागि महिला, घाटमा लैजानका लागि पुरुष र जसरी कुनै दिनदुखी बिना चप्पल जुत्ता कसरी हिड्छन्, बिना साधन कुनै व्यक्ति कसरी काम गर्दछन्, यसको आभाष गराउनका लागि घाटमा प्रसाद लैजानेहरु धनी होस् या गरिब जुत्ता, चप्पलबिना हिँडेर नै लैजाने गर्दछन् ।
त्यसैगरी छठको विशेषता सहितको मैथिली लोक गीतसंगीतले जीवनलाई सार्थक बनाउन र पवित्र पर्वका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्दछ ।
छठको सन्देश
छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाईन्छ । जस्तै स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङलो, कनसुप्ती, माटोद्वारा निर्मित सामाग्रीहरु, ढकना, सरबा, दियो, हाथी आदि सामाग्रीहरु । हिन्दु धर्म संस्कृतिमा छठ पर्वको विशिष्टता आफैमा महत्पूर्ण रहेको छ । यस पर्वमा उदाउँदो सूर्यका साथै अस्ताउँदै गरेको सूर्यलाई समेत एकै प्रकारको आस्था र निष्ठाका साथ पूजिन्छ । त्यसैगरि हरेक वर्ग, जात, समुदायका मानिस एकै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन् जसले उक्त कुरालाई प्रस्ट्याउछ की सृष्टि सबैको लागि समान हो यहाँ कोही उचनिच, धनी गरिब छैनन् । त्यसैगरी यदी वातावरणीय हिसाबले हेर्ने हो भने पनि छठ पर्वको ज्यादै नै महत्व रहेको छ । वर्षमा एक पटक भएपनि हामीले आफ्नो जीवनसँग अत्याधिक नजिक रहेको प्रकृतिलाई संरक्षण गर्नुपर्छ र पोखरी, तालतलैया, नदीलगायत पानीको मुहान सरसफाई गरिन्छ जसले हामीलाई जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्दै आएको पानीलाई हामीले संरक्षा गर्नुपर्छ भन्ने खालका सन्देश दिएको छ ।
