जनकपुर, कार्तिक १५

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु व्यापकरुपमा प्रचारप्रसारमा जुटेका छन् ।
उम्मेदवारहरु प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तिव्रता साथ अघि बढाएका छन् ।

तर कतिपय मधेश प्रदेश सरकारका पूर्वमन्त्रीहरुले भने आफ्नो प्रचारप्रसार तथा घरदैलो अभियानमा मधेश सरकारले स्थापना गरेका विभिन्न निकायमा राजनीतिक नियूक्त लिएका व्यक्तिहरु पनि व्यस्त देखिएका छन् ।

जबकी निर्वाचन आयोग नेपालले भने निर्वाचन स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ जारी गरेको छ ।
मधेस प्रदेश सरकारले स्वतन्त्र तथा नियमनकारी भूमिका निर्वाहका लागि स्थापना गरेको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको परिकल्पना गरेको अवस्थामा मधेस प्रदेशमा भने बोर्डकै एक सदस्य दल तथा उम्मेदवार विशेषको प्रचारप्रसार गरेको पाइएको हो ।

चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डका सदस्य पुष्पा यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महाजन यादव र ४(क)को प्रदेशसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रकुमार यादवको पक्षमा खुलेरै प्रचारप्रसारमा लागेर मत मागिरहेकी छन् । यसप्रति भने निर्वाचन आयोगले अहिलेसम्म केही पनि गर्ने आट देखाएको छैन ।

सदस्य पुष्पा यादव उम्मेदवार यादवद्वयको पक्षमा मत माग्न घरदैलोमासमेत पुग्ने गरेकी छन् । उनले आफ्नो फेसबुकमा पनि जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य पदको उम्मेदवार ज्ञानेन्द्रकुमार यादवका लागि मत मागेर निर्वाचन आयोगले जारी गरेको आचारसंहीताको उल्लंघन गर्दै हिडेकी छन् ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले खुलेआम राजनीतिक दल तथा उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने स्पष्ट उल्लेख छ ।

सो दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

तर बोर्डका सदस्य यादवले उम्मेदवारसँगै देखिने गरिनै माला लगाएर अघि पछि गर्दै हिंड्दै प्रदेशसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रको प्रचार गरिरहेकी छन् ।

तर उनले भने आफुले कुनैपनि उम्मेदवारको प्रचारप्रसार अथवा घरदैलोमा नगएको जिकिर गरिन् ।