सर्लाही, कार्तिक १५

सर्लाही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महिन्द्र राय यादवको चुनावप्रसार गाडीको ठक्करबाट एक जनाको मृत्यू भएपछि उनी विरुद्ध मलंगवामा विरोध प्रदर्शन भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष यादवको चुनाव प्रचारप्रसार गाडीको ठक्करबाट जिल्लाको ब्रम्ह्पुरीमा एक युवकको मृत्यु भएपछि पिडित पक्षले विरोध प्रदर्शन गरेका हुन् ।

उम्मेदवार यादवको चुनाव प्रचारप्रसारमा रहेको बीआर ३० पी ९०८२ नम्बरको भारतीय गाडीले पूर्व–पश्चिम हुलाकी सडकको सखुअवा र भेल्हीको बीचमा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सीतामढीका २२ वर्षीय नेक महम्मदको आइतवार मृत्यु भएको थियो ।

घटनापश्चात पिडित पक्षले दोषीमाथि कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै बुधवार सदरमुकाम मलंगवाको शहीद चोकमा यादवविरुद्ध नाराबाजी गर्दै टायर बालेर घण्टौ विरोध प्रदर्शन गरेका छन् ।

पिडित पक्षले दोषीलाई कारवाही र उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझने अडान लिएकोले मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार मलंगवा नगरपालिका–९ का १२ वर्षीय असलम सफीको भने प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

यता सर्लाही प्रहरीले घटनाकै दिन ब्रम्ह्पुरी गाउँपालिका–३ बाट राति ११ बजे सो गाडी नियन्त्रणमा लिएपनि चालक अझै फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रबक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।