जनकपुर, कार्तिक १५
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् ।
मंगलबार जनकपुरमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ द्वारा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् ।
जनताले ७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई करिब दुईतिहाई बहुमत दिएपनि केपी ओलीले कुनै काम गर्न नसकेको उनले बताए । उनले ओलीले गुटबन्दी गरेको र अरूलाई आदेश पालना गर्ने दास बनाउन खोजेकाले पार्टीमा विद्रोह भएको धारणा राखे ।
अध्यक्ष नेपालले समाजवादीको चुनाव चिह्न कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने दाबी गरे ।
यस्तै उनले पार्टीभित्र गुटबन्दी गरी अन्य नेताहरूलाई गुलाम बनाउन खोजेको पनि ओलीमाथि आरोप लगाए । ’पार्टीभित्र तीन ÷तीनवटा प्रधानमन्त्री थिए तर उनले उनीहरूको अनुभव, ज्ञान र सकारात्मक सोचको लाभ लिन सक्नु भएन । उल्टै खुराफात गरे,’ नेता नेपालले भने ।
यस क्रममा नेकपा एकीकृत समाजवादीका धनुषा २ का प्रतिनिधिसभा सदस्य रामचन्द्र झाले विचार निर्माण, कानुन निर्माण, विकास निर्माण लगायतका क्षेत्रमा आफूले गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा रामबाबु यादव, वीरेन्द्र यादव, रेखा मण्डलसहित विभिन्न राजनीतिक दल परित्याग गरी सयौं जनाले एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरिएको थियो ।
