जनकपुर, कार्तिक १५
जनकपुरधाममा मासुको चोक्टा खानलाई दुई वडा अध्यक्ष वीच कुटाकुट भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष दिनेश सिंहले वडा नम्बर–५ का वडा अध्यक्ष बेचन साह वीच मासु खाने विषयमा भनाभन भएपछि भएको विवादमा दुई समुह वीच कुटाकुट भएको हो ।
वडा अध्यक्ष सिंहले नेकपा एमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा वडा अध्यक्ष साहमाथि कुटपिट गरेको आरोप लगाइएका छन् ।
मंगलबार साँझ तर्फ नेकपा एमालेको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा जनकपुरधामको १५ वटा वडामा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूसँग आयोजित चुनावी छलफलमा खानपिनको विषयमा विवाद हुँदा वडा नम्बर–८ का वडा अध्यक्ष दिनेश सिंह र वडा नम्बर–१ का एमालेका वडाध्यक्ष पदका उम्मेदवार रहेका लभ अधिकारीले एमालेबाटै निर्वाचित वडा नम्बर–५ का वडा अध्यक्ष बेचन साहलाई कुटपिट गरेका छन् ।
एमालेको क्षेत्रीय कार्यालयमा आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि बैठक बसेको थियो । सो बैठक पश्चात आयोजित खानपिनको क्रममा सामान्य विवाद समेत भएको थियो । सोही क्रममा वडा अध्यक्ष सिंहले लभलाई निर्देशन दिएपछि अर्का वडा अध्यक्ष साहमाथि एक्कासी हातपात गर्न लगाएका आरोप लागेको छ ।
घाइते वडा अध्यक्ष साहलाई शरीरको विभिन्न भागमा चोट लागेको छ भने उनी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराईरहेका छन् ।
