महोत्तरी, कार्तिक १९

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–३ लाई चासोका साथ हेरिएको छ । यो निर्वाचन क्षेत्रमा ‘हेबीवेट’ मानिएका लोसपाका अध्यक्ष महन्थ ठाकुरदेखि तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, जसपाका हरिनारायण यादव, एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापरलगायत चुनावी मैदानमा छन् ।

जसपा–एमाले गठबन्धनबाट जसपाकै हरिनारायण यादव उम्मेदवार छन् भने तमलोपाका अध्यक्ष लाल पनि सोही पदमा प्रतिस्पर्धी बनेका छन् । अर्थात् विगतका सहयात्रीहरु नै यसपालि एक अर्काविरुद्ध लड्दैछन् ।

ठाकुरलाई उनकै लामो समयदेखिका सहयात्री लालको उपस्थितिले चुनौती थपिएको छ । ठाकुर २०७४ को चुनाव लड्दा लाल उनको सहयोद्धाको रुपमा साथ दिएका थिए ।

विगतमा ठाकुरको अध्यक्षतामा नेपाली कांग्रेसबाट विद्रोह गरी तमलोपा गठन हुँदा लालसमेत त्यसमै थिए । तमलोपाबाट राजपा बन्दा पनि लाल सँगै थिए भने राजपाबाट जसपा र जसपाबाट अलग भएर लोसपा बन्दासम्मसमेत सँगै रहेका लाल पछिल्लो समय आफ्नै नेतृत्वमा पुरानो तमलोपालाई ब्युँताएका छन् ।

२०२८ सालदेखि नै ठाकुर र लाल कांग्रेसको राजनीतिबाट चिनजान भएका र एकअर्कालाई सहयोग गर्ने नेता हुन् । यसपालिको निर्वाचनमा दुबैजनाबिचको राजनीतिक सम्बन्ध चिसिएको छ । लालले ठाकुर मधेश आन्दोलनप्रति धोका दिने व्यक्ति रहेकोले आफूले उनको साथ छोडेको बताउँछन् ।

May be an image of 3 people, people sitting, people standing and outdoors

लाल भन्छन्, ‘ठाकुरसँग अलग हुनु हाम्रो बाध्यता छ । हामी सुरुदेखि सँगसँगै थियौं अहिले पनि हामीबिच कुनै व्यक्तिगत विवाद छैन । व्यक्तिगत लडाई छैन राजनीतिक लडाई हो । अहिले पनि उहाँसँगै राम्रो सम्बन्ध छ । तर, उहाँले आफ्नो सिद्धान्त र विचारलाई छाडिदिएपछि राजनीतिक रुपमा मात्र हामी अब अलग भएका हौं ।’

लाल मंसिर ४ को निर्वाचनका लागि उत्साहित छन् । उनी मतदातासँग भेटघाटका लागि घरदैलोमा जाँदा मतदाताको रुझान आफूप्रति देखेको पाउँदा चुनाव जित्नेमा विश्वस्त छन् ।