जनकपुर, कार्तिक १९
धनुषामा निर्वाचन आचार सहिता विपरित चर्को स्वरमा डिजे बाजा तथा ठुलठुला चुनावी प्रचारप्रसारका बैनरहरु सवारीसाधनमा झुण्ड्याएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक दर्जन गाडी नियन्त्रणमा लिएको छ ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार आचार सहिता विपरितको गतिविधि गरेको भन्दै ती गाडीहरुलाई नियन्त्रणमा लिईएको जनाएको छ ।
धनुषा– ३ मा नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार रहेका एमालेकी पोलिटव्यरो सदस्य जुलीकुमारी महतो र धनुषा– ३(१) बाट जसपाका प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्रकुमार यादव, लोसपा नेपालका उम्मेदवार अनिल झा, नेपाली काँग्रेसबाट धनुषा– ३(१) का उम्मेदवार रहेका मधेश प्रदेशका पूर्वमन्त्री रामसरोज यादवलगायत आधा दर्जन भन्दा बढी उम्मेदवारहरुको सवारी साधन नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका पर्नेमा १० वटा गाडी भारतीय नम्बर प्लेट तथा दुई वटा नेपाली नम्बर प्लेटका गाडी रहेका छन् । निर्वाचन आयोगले भारतीय नम्बरप्लेटको सवारी साधनलाई निर्वाचनमा प्रयोगमा निषेध गरेको छ ।
निर्वाचन आचार सहितामा कडाई गर्नका लागि निर्वाचन आयोगलाई विभिन्न क्षेत्रवाट आज जनकपुरधाममा आयोजना गरिईएको कार्यक्रममा सुझाव दिएपछि आयोग एक्सनमा आएको छ ।
निर्वाचन आचार सहिता विपरितको प्रचार सामाग्रीहरु सहित पक्राउँ पर्नेमा धनुषाका निर्वाचन क्षेत्र नंं ३ र ४ का प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको सवारी साधनहरु रहेका छन् । जनकपुरधामको जिरोमाई, विद्यापति चौक तथा मुजेलीया क्षेत्रवाट आयोगको आदेशमा नियन्त्रणमा लिईएको छ ।
