जनकपुर, कार्तिक २०
प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको केही दिन मात्रै बाँकी रहेको समयमा धनुषाको लक्ष्मिनिया गाउँपालिकामा युवाहरुको एक हुल वैदेशिक रोजगारीमा जाने तयारी छन् । लक्ष्मिनिया गाउँपालिका वडा नम्बर २ सिनुरजोडामा निर्वाचनलाई लिएर कुनै जोश जाँगर थिएन । सिनुरजोडाको कुलिनहरुको वस्तीमा ‘पमरिया नाच’ भइरहेको थियो । एक जनाको घरमा छोराको आगमन भएको खुसियालीमा भइरहेको सो नाचगानमा कयौँ व्यक्तिको सहभागिता थियो । तर छिमेकमै रहेको मुसहर न कुनै तामझाम न कुनै खुशियाली थियो । केही युवाहरु निर्वाचनबाट बेखबर भएर रोजगारीका लागि विदेशिने तयारीमा थिए ।
विदेश जाने तयारीमा रहेका ती युवाहरुलाई चुनावमा मत हाल्ने कुनै रहर छैन । ऋणको भारीले परिवार च्यापिएको छ, पहिला परिवार हेरौँ कि चुनाव अर्जुन सदा भन्छन् ‘जति पटक निर्वाचन भएपनि हामी जस्तो परिवारका लागि कुनै परिवर्तन हुनेबाला छैन, परिवारिक सदस्यको अनुहारमा मुस्कान ल्याउन विदेशिनु पर्ने बाध्यता छ ।’ उनी रोजगारीका लागि भारतको पञ्जाब जाने तयारी छन् ।
‘यहाँ रोजगारी छैन, ऋण तिर्न साहु महाजनको दबाब छ । घर खर्च पनि चलाउने आम्दानी छैन,’ अर्जुनले भने, ‘अहिले कसैले पाँच हजार दिन पनि पत्याउँदैन । बाध्य भएर रोजगारीका लागि जान लागेको छु । नेताले हाम्रो पेट पाल्ने होइनन् ।’
सिनुरजोडाको त्यो मुसहर वस्तीका युवाहरु परिवारको आवश्यक्ता पुर्तीका लागि वर्षेणी भारतको पञ्जाब, हरियाणा, मद्रास, दिल्ली लगायतको शहरमा रोजगारीका लागि जाने गर्छन् ।
अर्जुनसंगै सुरेन्द्र सदा पनि पञ्जाब जाने तयारी गरिरहेका थिए । उनले भने ‘ज्याला मजदुरी नगरे हातमुख जोड्न समस्या हुन्छ, परिवारको हरेक सदस्यको हातमुख जोड्नका लागि पनि गईरहेको छु ।’
यता धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चुनावी रौनक थियो । मुसहर मतदाताहरुको घरमा दैनिक अहिले नेताहरु घरदैलोको नाममा पुगि रहेका छन् । केही महिना अगाडीसम्म मात्रै मुख्यिापट्टि मुसहरनिया वडा नम्बर ३ तुलसीयाहीका जनता कुनै नेतालाई भेट्न जाँदा समेत वास्ता गर्दैन थिए । जनप्रतिनिधिहरु त फोनै उठाउन छोडि सकेका थिए ।
सोही वस्तीमा अहिले नियमित नेताहरूको भिड लाग्छ । मुसहर मतदाताहरुलाई अहिले नेताको ठूलठूलो भाषण र वचनवद्धता सुन्न भ्याइनभ्याइ छ ।
शुक्रबार ७० वर्षीय ज्ञानचन्द सदाको घरमा नेताहरुको एक हुल पसे । आफ्नो चुनावी प्रतिवद्धताहरु सुनाए । तर ती सबै प्रतिवद्धताहरु झुठा छन् सदालाई राम्ररी थाहा छ । सदाको ३ धुर ऐलानी जग्गामा दुई कोठे घर छ । त्यही जग्गाको लालपुर्जा नेताले बनाइदिने आशमा प्रत्येक चुनावमा उनी नेताको भाषण सुन्न बाध्य हुन्छन् । बस्तीमा खानेपानी, नाला र सडक बनाउनु पर्ने वर्षौंदेखिको माग यथावतै छ । सोही आशमा मतदान पनि गर्छौँ तर चुनाव सकिए लगत्तै सबै वाचाहरु झुठा साबित हुने गरेको सदाले गुनासो गरे ।
भारतीय सीमासँग जोडिएको मुखियापट्टी मुसहरनिया देशकै सबैभन्दा गहिरो ठाउँ हो । बर्सातको बेला घर–घरमा पानी पस्छ । मुसहर बस्ती ऐलानी जमिनमा छ । गत चुनावमा पनि बस्तीका बासिन्दाले बर्सातको पानी व्यवस्थापन, खानेपानी, सडक र सबै ऐलानी जमिनको लालपुर्जा बनाइदिनुपर्ने माग राखेका थिए ।
उनीहरूको बस्तीमा मात्र तीनवटा हाते कल छन् । जसले गर्मीमा पानीको हाहाकार हुन्छ । लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ । नाला नबन्दा बर्सातमा उनीहरूको घर डुब्छ । त्यसैले हरेक निर्वाचनमा उनीहरूले यी मागहरू अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन् । तर, उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन् ।
गाउँमा बिजुली पुगेपनि मुसहर बस्तीका अधिकांश घर अध्यारोमै हुन्छन् । लालपुर्जा नहुँदा मिटर नपाएको महेन्द्र सादाले गुनासो गरे ।
‘गाउँमा लाइन त छ, तर बिद्युत कार्यालयले लालपुर्जा नभएकालाई मिटर दिन मानेका छैनन्, ‘उनले भने, ‘बिद्युत चोरी गरे भने पुलिस समात्छ । अनी कसरी बल्छ मुसहर बस्तीमा बत्ती ?’
उपचार गराउन पनि जनकपुर पुग्नुपर्ने यो बस्तीको पीडा छ । बर्सातको बेला गाउँमा एम्बुलेन्स नपुग्ने गरेको उनी बताउँछन् ।
सोही वस्तीको फुलमतीया देवीले भनिन्, ‘यो बस्तीमा नेता भोटको बेलामा मात्रै आउँछन् । मत पाएपछि नेताको रङ नै फेरिन्छ । तर बस्तीको रङ फेरिँदैन ।’
मुसहर तथा विपन्नहरुको वस्तीमा यस्ता समस्याहरु ग्रामीण क्षेत्रमा मात्रै छन् त्यस्तो होइन । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा समेत गरिबहरुको वस्तीमा यस्तै समस्याहरु कायम छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवामा उर्मिलादेवी दास पुस्तौँदेखि एलानी जग्गामा घर बनाएर रहँदै आएको बताउँछिन् । लालपूर्जा बन्ने आशमा प्रत्येक चुनावमा हामी मतदान गर्छौँ तर मतदान सकिए लगत्तै ५ सालपछि मात्रै ती नेताहरुको मुख फेरी हामी हेर्न पाउँछौँ दासले बताइन् ।
पछिल्लो निर्वाचनमा वस्ती सफा हुने, लालपूर्जा बनाइ दिने, घर बनाई दिने जस्ता वाचा हामीलाई नेताहरुले गरेका थिए, दासले भनिन् ‘चुनाव आई सक्यो फेरी तीनै वाचाहरु लिएर उम्मेदवारहरु आउँछन्, अब त मलाई नेताहरुको कुनै वाचामाथी विश्वास हुँदैनन् ।’ अगाडी भनिन् ‘न मैले लालपूर्जा पाए न घर मत खसाएर के हुन्छ, म यस पटक मत कसैलाई पनि नदिने सोच बनाएको छु ।’ लालपूर्जा नबनेसम्म म कुनै निर्वाचनमा मत नै नदिने दासले भनिन् ।
प्रदेश सरकारले ल्याएको दलित शसक्तिकरण सम्बन्धि विधेयक कागजमै सिमित हुनु र दलित विकास समिति कार्यालय र बोर्डमा मात्रै सीमित हुनुले प्रदेश सरकार दलित तथा गरिबहरुको समस्या समाधान तर्फ चासो नै नलिएको आरोप स्थानीयको छ ।
