जनकपुर, कार्तिक २२
प्रत्येक वर्ष झौँ यस वर्ष पनि कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गर्ने धार्मिक परम्परा रहेको छ ।
यसलाई लोक भाषामा भूत मेला पनि भन्ने चलन छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्याका लागि भुत खेल्ने हुनाले यसलाई भुत मेला भनेर भनिन्छ ।
धार्मिक तथा ऐतिहासिक नदी कमलामा नुहाएपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथै हजारौ संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।
मंगलबार बिहान २ बजेदेखि नै श्रद्धालु भक्तजनहरु चिसो मौसमको प्रवाह नगरी कमला नदीको (पानी) मा डुबल्की मारी स्नान गरिरहेका छन् । कतिपय कार्तिक पूर्णिमाको पूर्वसन्ध्यामा सोमबार नै कमला नदीको तटमा पुगेर राति बास बसेका थिए । मंगलबार बिहान कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने धार्मिकविश्वासका साथ उनीहरू घर फर्किने गर्छन् ।
यस कमला नदीको डिलमा लाग्ने मेलामा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् । तान्त्रिक विद्या प्राप्त भई धामीझाँक्री बन्ने धार्मिक विश्वाससाथ उनीहरू देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वरदान दिने तथा धामी विद्यामा पक्का हुने जनविश्वास छ । पहेँलो धोतीमा पुरुष र पहेँलो सारी लगाएका सिकारु धामीझाँक्रीहरूले माटो फाडोमा आगो अर्घ्य लिई देवीदेवतालाई चर्को स्वरमा बोलाउने गर्छन् ।
तान्त्रिक विद्याका लागि धामी झाक्री बन्नलाई नयाँ सिकारुहरूसमेत कमला नदीको पानीमा डुबल्की लगाइरहँदा बाहिर छेउछाउमा पहिलादेखि नै तन्त्रमन्त्रस्हित तान्त्रिक विद्यामा सिद्ध भएका धामी आफ्ना सहयोगीहरुका साथ झाल, ढोल, मालद बजाउँदै महराई (लोकगीत) गराइरहेका हुन्छन् ।
कमला नदीमा स्नान गरेपछि घर फर्किने क्रमामा श्रद्धालु भक्तजनहरू जनकपुरधामस्थित गंगासागर तलाउको पानीसमेत लिएर घर जाने गर्दछन् ।
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले कमला नदीमा स्नान गर्नु मिथिलाको पुरानो परम्परा रहेको बताउँछन् ।
सीतायण महाकाव्यमा कमलालाई पवित्र नदीको रूपमा वर्णन गरिएको उल्लेख गर्दै वरिष्ठ साहित्यकार डा. बिमलले, ‘कमला नदीमा स्नान गर्दा तान्त्रिक विद्या सिद्ध हुने कुरा हिन्दु धर्मको कुनै पनि पुस्तकमा उल्लेख नरहेपनि जानकी मन्दिरमा पहिला महन्थ सुरकिशोर दासले नयाँ जनकपुरको खोजी गरेपछि मात्रै कमलामा स्नान गर्ने परम्परा सुरु भएको हो ।’
