जनकपुर, कार्तिक २३
दलीय गठबन्धनले लादेको सिन्डिकेट विरुद्ध स्वतन्त्ररुपमा उम्मेदवारी दिएको धनुषा– ३ का उम्मेदवार उमेश साहले बताएका छन् ।
बुधबार जनकपुरधाम स्थित राम चोकमा चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन गर्ने क्रममा उनले यसो बताएका हुन् ।
कार्यालय उद्घाटन गरिसकेपछि मुलुकलाई दलीय दादागिरीकै कारण बन्धक बनाएको भन्दै उनले एक जोडा परेवा उडाउदैँ मुलुकलाई स्वतन्त्ररुपमा राष्ट्रिय स्वाधिनतामाथि कुनै पनि किसिमको आँच नआउने गरि अघि बढाउनुपर्ने आवश्यकता रहेको बेला गरिएको दलीय गठबन्धनले मुलुकलाई उधोगती तर्फ लाने दुःचेष्टा गरेको आरोप समेत लगाए ।
उनले जनकपुरधामको उचित विकास र भ्रष्टाचार अन्त्यका लागि उचित उम्मेदवारलाई मतदिन आग्रह गरेका छन् ।
जनकपुरधाममा निर्वाचन प्रचार प्रसार समिति कार्यालयको समुदघाटन कार्यक्रममा बोल्दै उम्मेदवार साहले जनकपुरधामले अनेकन नेता जन्माए पनि जनकपुरधाम त के जानकी मन्दिर देख्ने पनि कोहि नरहेको गुनासो गरेका छन् ।
उनले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएमा हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा लग्ने र धार्मिक पर्यटकीय नगरीसहित रोजगारीको पनि व्यवस्था मिलाउनेलगायतको योजना रहेको बताए । उनले जानकी मन्दिरलाई विद्युतको विभिन्न कारणले कहिल्यै पनि अध्यारोमा जानकी मातालाई बस्न नदिने समेत बताए । उनले जनकपुरधामलाई मच्छरमुक्त र सरसफाईलाई मुख्य केन्द्रको रुपमा अघि बढाउने समेत बताए ।
सो कार्यक्रममा जनकपुुरधाम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रमेश साहले जनकपुरधाम विमानस्थल स्थापना र निर्माणमा आफनो पुर्खाको लगानी रहेको बताए ।
उनले भने, ‘जनकपुर एयरपोर्ट निर्माणमा मेरा बुवा कांग्रेसको एक सदस्य नाताले भुमिका खेलेको छ ।’ उनले अघि थप्दैँ भने, ‘हामी एयरपोर्ट निर्माणमा जग्गादान र राराब क्याम्पसमा एकलाख थान ईट्टा सहयोग गरेको परिवारको सदस्य हौं ।’
सो कार्यक्रममा संविधानसभा सदस्य माधवी रानी साहले उम्मेदवार उमेशलाई जीतको अग्रिम शुभकामना दिदँै धनुषा– ३ को सुपथ विकास, जनकपुरधामको समृद्धि र रोजगारी नै आजको आवश्यकता रहेको बताए ।
उम्मेदवार उमेश साह नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष हुन् भने उनी यस अघि जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदमा समेत उम्मेदवारी दिएका थिए ।

