महोत्तरी, कार्तिक २३
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनु नै मुख्य एजेण्डा रहेको बताएका छन् ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका लोसपा नेता भण्डारीले उक्त एजेण्डा पूरा गर्नकै लागि सत्ता गठबन्धनसंग चुनावी तालमेल गरेको बताए ।
लोसपाले मधेशका साथै पूरै देशकालागि समस्याको रुपमा रहेको नागरिकता समस्या समाधानकै लागि एमालेसंग मिलेर समेत काम गरेको स्मरण गराउँदै भने ‘मधेशको समस्या समाधानका लागि हामीले एमाले जस्तो प्रतिगामी दलसंग मिलेर समेत काम गर्यौँ, अब सत्ता गठबन्धनसंग मिलेर मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा काम गर्नेछौँ ।’
मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजातीको सवालमा लोसपा मात्रै गम्भिर रहेको दावी गर्दै जनताले लोसपामाथी विश्वास गर्ने दावी गरे । ८ लाख नेपाली युवा जो नागरिकता बिना केही गर्न पाईरहेका छैन, उनीहरुको समस्या समाधान पनि हाम्रो प्रमुख एजेण्डा रहेको भण्डारीको भनाई थियो ।
महोत्तरी २को विभिन्न गाउँमा घरदैलोमा पुग्ने क्रममा जनता आफ्नो कामबाट सन्तुष्ट रहेको बताउँदै भण्डारीले मतदाताहरु किन भेट्न नआएको मात्रै गुनासो गर्ने गरेको सुनाए । यसले जनतामा आफूप्रति माया स्नेह झल्किरहेको भण्डारीको प्रतिक्रिया दिए ।
