सप्तरी, कार्तिक २४

संघीयता र मधेस प्रदेशको ‘प्राधिकार‘ का रुपमा आफुलाई स्थापित गराउन कटिबद्ध मधेस आन्दोलनका जोधाहा पहिचानवादी नेता उपेन्द्र यादव यसपालि गहिरो संकटमा देखिन्छन् । यसअघिका लगातार ३ ओटा (०६४, ७० र ७४ ) चुनाव जिति राज्यका महत्वपूर्ण निकायमा नेतृत्व दिइसकेका यादव सय भन्दा बढी मान्छेको ‘हत्या भएको’ मधेस आन्दोलनका नेतृत्वकर्ता पनि हुन् । अन्य प्रदेशमा नेतृत्व फेरिंदा समेत मधेस प्रदेशको राजकाजबाट पूरै कार्यकालसम्म नहटेको जनता समाजवादी पार्टीका अध्यक्ष यादवको दललाई यसपालिको चुनावबाट साइजमा ल्याउन गरिएको ‘चौतर्फी घेराबन्दी’ का कारण उनी संकटमा परेकाहुन् ।

बदलिदो राजनीतिकरणले मधेसका शक्तिशाली नेता उपेन्द्रको अवस्था बिग्रिएपछि उनले ‘जसरी पनि जित्नुपर्छ‘ भन्ने शक्ति र ‘उपेन्द्रको शक्ति जसरी पनि नाश हुनुपर्छ ‘ भन्ने शक्तिबीच राजविराज अघोषित र अदृश्य रणमैदान बनेको भान हुन्छ । सबैको नजर उपेन्द्रको निर्वाचन क्षेत्रमा रहेकोले सामान्यतः यसअघि प्रदेश राजधानी जनकपुरमा हुने चुनावी सरगर्मी यसपालि राजविराजमा सरेको देखिन्छ । चुनावी पर्यवेक्षकका नाममा आउने अधिकारकर्मी, सुरक्षासंयन्त्रका टिम, संचारकर्मी र गैरसरकारी संस्थाको ब्यानरमा पुरानो शहर भित्र छिरिरहेका विभिन्न देशका कुटनीतिक नियोगका आगन्तुकहरुले साँघुरो राजविराजको चहलपहल निकै बढाइदिएकोछ ।

्मधेसको राजनीतिक, साँस्कृतिक, सामाजिक र सुरक्षा अवस्थामाथि नै प्रभाव पार्ने गरि उपेन्द्र यादवको जितहारसंग जोडिएका केहि यस्ता तन्तुहरु छन् जसले भोलिको राजनीतिक परिदृश्य नै अर्के बनाईदिने सामथ्र्य राख्दछ । शान्तिपूर्ण राजनीति भनिएपनि अस्त्रबलबाट सत्ताको सोपान टेकेका जसपाका प्रमुख उपेन्द्र र राजनीतिक जोडघटाउका निम्ति ‘जस्तो पनि रणनीतिक हत्कण्डा अपनाउन सक्ने’ झापा बिद्रोहले जन्माएको ओलीबीच चारित्रिक बिशेषतामा रहेको समानताले राज्यसंयन्त्रको विशेष ध्यान यो क्षेत्रमाथि छ ।

आजभन्दा १६ बर्ष अघि रौतहतको गौरमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन मधेसी जनअधिकार फोरमका यूवा कार्यकर्ताहरुले माओवादीको २७ जना वाइसीएल (यङ् कम्यनिष्ट लीग) कार्यकर्ताहरुको हत्या गरेपछि उपेन्द्र यादव राष्ट्रिय राजनीतिको रिङ्भित्र छिरेकाथिए । यो संहारलाई यादव इतरका दल र विश्लेषकले ‘गौर नरसंहार‘ को रुपमा ब्याख्या गर्छन भने यादव सहितका मधेसवादी दलले यसलाई ‘राजनीतिक घटना’ को रुपमा अथ्र्याउन्छन् । त्यो संहार विरुद्ध प्रहरीमा उपेन्द्र सहित ११३ जनाविरुद्ध परेको कर्तब्य ज्यान मुद्दाको अझै छिनोफानो लागेकोछैन । बरु त्यसयता उपेन्द्रले ३–३ चोटीको संसदिय निर्वाचनमा जनमत लिई राष्ट्रिय राजनीतिमा बलियो हुदैंगए । यसपालि उपेन्द्र चौथौ चोटी चुनावी मैदानमा उत्रिएकाछन् ।

त्यसो त उपेन्द्र सधैं चर्चामा रहिरहने पात्र हुन् तर यसपालि उनी आफुले मधेसी मतदातालाई दुश्मनको रुपमा चिनाउदै आइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग घाँटी जोड्न गएयता मधेसभरी उनी बहसको केन्द्रमा देखिन्छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनको सरकारले संसदमा पेश गरेको ‘नागरिकता विधेयक २०७९‘ लाई प्रतिपक्षी दल एमालेले रोक्न खोजेको भन्दै जसपाले राजविराज सहित मधेस प्रदेशका सबै जिल्लामा अध्यक्ष ओली सहित राष्ट्रपति बिद्यादेवी भण्डारीको समेत पुत्ला जलाएकोथियो । तर केहि सातापछि आफ्ना अध्यक्ष यादव र एमालेका अध्यक्ष ओली कुममा कुम जोड्दै ‘चुनावी सहकार्य गर्ने निर्णय गरिएको’ भन्दै सार्वजनिक मन्चमा खिचिएका तस्वीर र भिडीओ मीडियामा देखेपछि कार्यकर्ता स्तब्ध भए ।

हिंजोसम्म उपेन्द्र स्वयंले एमाले र त्यसका नेता ओलीलाई ‘मधेसको दुश्मन’ भन्दै आन्तरिक प्रशिक्षण र सार्वजनिक भाषण मार्फत आफ्ना कार्यकर्तालाई ‘वर्गविश्लेषण’ पढाउँदै आइरहेका थिए । त्यहि नेताले संघीय निर्वाचनकै मुखमा लिएको चुनावी रणनीतिको अन्तर्यमा निकै भिन्नता भेटेपछि कार्यकर्ता मात्र होईन मतदाता पनि रुष्ट देखिन्छन् । मधेस आन्दोलनताका ‘मधेसका दुश्मनलाई प्रवेश निषेध’ भन्दै मधेस प्रदेशमा ओली आमन्त्रित सार्वजनिक कार्यक्रममा ढुंगामुढा गर्न पठाइएका कार्यकर्ताहरु ‘ओलीसंग घाँटी जोडेर‘ कसरी मतदातामाझ जान सकिन्छ भन्दै निकै न्यास्रो ब्यक्त गरिरहेका कार्यकर्ताका कुरा सुन्दा नेतृत्वले लिएको निर्णयका कारण जसपाका कार्यकर्ताका मनोबल खस्किएको देखिन्छ ।

हुन त यसअघि पनि उपेन्द्रले ओलीको नेतृत्वमा बनेको वाम गठबन्धनको सरकारमा पनि भाग लिएकाथिए, जसलाई उनले ‘सत्ता उपयोगको रणनीति’ भन्दै तर्क दिदै आएकाछन् । त्यो सत्ता बाँडफाँडको प्रश्न भएकोले उनको त्यो निर्णयमाथि धेरै प्रश्न उठेकोथिएन तर यसपालि निर्वाचनमै गठबन्धन गरिदिएपछि अप्ठेरोमा परेका कार्यकर्ताले राजविराजमा मात्र होईन मधेसमै उत्साह जगाउन सकिरहेकाछैनन । नेतृत्वको निर्णयबाट असन्तुष्ट जसपाका एकजना नेता भन्छन्, ‘गठबन्धन सम्बन्धि यस्तो अप्रिय निर्णय पहिल्यै गरेकोभए मतदातालाई कन्भिन्स गर्न सकिन्थ्यो । अन्तिम समयमा भएकोले समय नै प्रर्याप्त पाइएन ।’

२०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका नेता उमेशकुमार यादवलाई पराजित गरेका थिए । त्यतिबला दुई मधेसवादी दल राष्ट्रिय जनता पार्टी (अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी) र संघीय समाजवादी पार्टी ( अहिलेको जनता समाजवादी पार्टी ) को गठबन्धन थियो भने दुई वाम दल एमाले र माओवादीले गठबन्धन गरेकाथिए । यतिबेला एकातर्फ भर्खर भर्खर तेस्रो मधेस आन्दोलन सकिएकोले त्यसको राप र ताप थियो भने दुबै मधेसवादी दलबीच चुनावी मोर्चा बनेकोले बलियो शक्तिको रुपमा मैदानमा थियो । त्यसैले त्यतिबेला वामगठबन्धनका उमेशले ११ हजार ५ सय ८० मत मात्रै ल्याउन सकेका थिए ।

७४को निर्वाचनमा मधेसवादी दलहरु आन्दोलनको बलमा कति बलिया भएकाथिए भन्ने दृष्टान्ट यसपालिको चुनावमा उपेन्द्रसंग प्रतिस्पर्धा गरिरहेका सत्ता गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीबाटै ९ हजार ४५९ हजार मत पाएका थिए । राजपाका नेता ठाकुरले गठबन्धनले उपेन्द्र यादवलाई टिकट दिएपछि पार्टीबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएकाथिए । काग्रेंसका सकलदेव सुतिहारले जम्मा १८४० मत मात्र पाएकाथिए । तर यस्तो जनाधार स्थानीय निर्वाचनसम्म कायम रहन सकेन । उपेन्द्रको क्षेत्रमा रहेका एक नगरपालिका र ३ गाउँपालिका मध्ये उनको दलले राजविराज नगरपालिको नेतृत्व मात्र पायो भने अन्य पालिकाहरुमा उसले नेतृत्व लिन सकेन । उल्टै राजविराजकै रंगशाला निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा विजयी मेयर शम्भु यादवलाई जितेको दुई महिना नकट्दै निलम्बन गरियो ।

हामीले भेटेका धेरै कार्यकर्ताहरुका भनाईमा वाम– लोकतान्त्रिक गठबन्धनसंग कुरा बिग्रिएपनि यदि जसपाले एक्लै चुनाव लडेकोभए यसपालि राम्रो सीट ल्याउन सक्थ्यो । त्यसका कारण जनताको मनोभाव मात्र नभई गएको स्थानीय निर्वाचनलाई पनि आधार बनाइएको देखिन्छ । गएको बैशाखमा समपन्न स्थानीय तहको निर्वाचनबाट पालिकाको नेतृत्व नपाएपनि वडागत मतलाई आधार मान्ने हो भने जसपाले यो क्षेत्रमा सबैभन्दा बढी ल्याएको देखिन्छ । वडामा जसपाले १४ हजार ४ सय ३ मत पाएको थियो । कांग्रेसले १० हजार ८०७ , लोकतान्त्रिक समाजवादी पार्टीले १० हजार ४ सय ३५ मत पाएकोथियो भने माओवादी केन्द्रले ९ हजार ५३४ र एमालेले ५ हजार ९५१ मत पाएकोथियो । राउतको जनमत पार्टीले ४ हजार ५४२ मत प्राप्त गरेको थियो ।

गएको प्रतिनिधिसभा निर्वाचनमा एक्लै राम्रो मत ल्याएका लोसपाका नेता ठाकुरलाई उपेन्द्रका सबैभन्दा ठूला प्रतिस्पर्धी मानिएकोछ । यसअघि हार्दैआएका र अहिले तेश्रो पटक प्रतिस्पर्धामा उत्रिएका उनलाई यसपालि गठबन्धन दलको समर्थन प्राप्त भएकोले पनि उनी त्यसै बलिया भएको भनिदैंछ । ठाकुर बाहेक उपेन्द्रलाई चुनौती ठानिएको पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका जनमत पार्टीका अध्यक्ष सीके राउत हुन्, जसले गाउँ क्षेत्रतीर निकै राम्रो संगठन बनाएको बिश्वास गरिन्छ । जितेर फर्किएर नआउने भनि मतदातामाझ आलोचित उपेन्द्रलाई मतदान गर्नुभन्दा एकचोटी नयाँ अनुहारलाई हेरौ न भन्नेहरु पनि ठूलो संख्यामा देखिन्छन् । निकै पढेका र एक्लै मैदानमा उत्रिएका भन्दै राउतको पक्षमा जनमत बढेको बताईन्छ । राजविराजको सखडामोडमा फलफूल ब्यवसायी सीतादेवी मण्डल भन्दै थिईन – ‘ जो नेता गएपनि केहि काम नगर्दा रहेछन्, बरु यसपालि सिके राउटलाई दिएर हेरौं न भनि घरसल्लाह भएकोछ ।’ तर स्थानीयमा राउतबारे बनेका धारणा सबै राम्रा छैनन । मधेसमा ‘पश्चिमा ऐजेन्ट’ का रुपमा दुष्प्रचार गरिएको उनलाई ओली क्याम्पमा गएको भन्दै चुनावी नारा समेत बनाइएकोले यी पनि उपेन्द्रका टाउको दुखाई हुन् ।

उपेन्द्रका निम्ति आन्तरिक कारण मात्र टाउको दुखाईका बिषय होईनन । चिनिया ऐजेन्टका रुपमा दुष्प्रचारित उनलाई दक्षिणी शक्तिले समेत हराउन लागिपरेको राजनीतिक जमघटमा चर्चा चलाउन थालिएको धेरै भएको रहेछ । उसोभए यत्रो प्रतिकूलतालाई चिर्दै उपेन्द्र यादव कसरी चनावी किल्लाबाट संसदिय ताज बोकेर बाहिर निक्लेलान् त ?

यो निर्वाचनमा आफ्नो अवस्था कमजोर रहेको सत्ता अंकगणितमा चतुर उपेन्द्र यादवले राम्ररी बुझिसकेकाछन् । त्यसैले चुनाव नजिकिदै गर्दा उनी यादवहरुको जनघनत्व रहेको आफ्ना क्षेत्रमा ‘भाई–भतिज, मामा–भान्जा’ परिचालन गरेर अन्तिम चोटी ‘जसरी पनि जिताई कुलको इज्जत जोगाइदिनुपरयो’ भन्दै याचना गर्दै हिंड्न थालेकाछन् । कतिपयको भनाईमा अन्तिममा उपेन्द्रको यो अस्त्रले काम गर्नै सम्भावना पनि छ । मधेसमा उच्च जाति समूदायमा पर्ने ठाकुरलाई दिनुको साटो आफ्नो कूलमा मतदान गरौं भन्ने लहर चले त्यसले उपेन्द्रको रणनीतिले काम गर्नपनि सक्ने संभावना छ ।

मधेस प्रदेशमा थर गोत्रको राजनीतिले सिमाना जोडिएको छिमेकी देश बिहारलाई पछ्याइरहेकोले यसलाई प्रभावकारी अस्त्र मानिन्छ । सबै दलमा संगठित यादवले के निर्णय गर्छन् त्यसले आफ्नो जितहारको निर्धारण गर्नै हुँदा उपेन्द्र अहिले जातीयताको फेरो दहे गरि समाउन उद्दत देखिन्छन् ।