जलेश्वर, कार्तिक २६
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले गठबन्धनहरुलाई सीटको बन्धन भन्दै यसले बहुदलीय गणतन्त्रलाई समाप्त गर्न खोजेको बताएका छन् ।
चुनावी अभियानको क्रममा जलेश्वरको महेन्द्रचोकमा आयोजित एक कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष लालले गम्भीर प्रश्नहरु उठाएका हुन् ।
लालले बहुदलीय व्यवस्थामा किन देशको प्रमुख पार्टीहरूले उम्मेदवारी र कार्यक्रम दिन सकेनन् भन्दै गठबन्धनको कुनै लक्ष्य नरहेको जिकिरसमेत गरे ।
नेपालमा स्पष्ट लक्ष्य सहितको गठबन्धन लोकतन्त्रको निमित्त २०४६ सालमा र त्यसपछि राजतन्त्र फाल्न प्रतिगमन विरुद्धको गरी दुईपटक मात्र भएको लालको भनाइ थियो ।
लालले अहिलेको गठबन्धनले फेरि सरकार चलाउने र काले–काले मिलेर खाउँ भाले गर्ने नै एक मात्र लक्ष्य बोकेको आरोपसमेत लगाए ।
उनले भने, ‘मधेस आन्दोलनको एजेन्डा भसाइएको छ । शहीदहरुका मुटु रोइरहेका छन् र हजारौं आन्दोलनकारी लाजले निहुरेका छन् । यसका निमित्त त्यागी, संत, मसीहा भन्नेहरु नै जिम्मेवार छन् । मधेस रहन्छ, मधेशी रहन्छन् र मधेसको समस्या रहुन्जेल संघर्ष पनि रहन्छ । तमलोपा यसलाई आगाडि बढाउन चुनौतीलाई स्वीकार गरेको छ ।’
भीजन र मिशन बिनाको जनप्रतिनिधिले आफ्नो क्षेत्रलाई दिशा दिन नसक्ने बताउँदै उनले हिड्न असमर्थ, सोच्न असमर्थको भीजन के हुन्छ ? भीजन नभए मिशन केको निमित्त ? भन्दै प्रश्न गरे । उनले परिवर्तनको विकल्प नभएको भन्दै क्षेत्रलाई गति र दिशा प्रदान गर्न परिवर्तन आवश्यक भएको बताए ।
महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर र तमललोपा अध्यक्ष लालबीचको प्रतिस्पर्धा क्रमशः रोचक र कडा हुँदै गएको स्थानीय बताउँछन् ।
